Logo

१८ मंसिर,वीरगञ्ज । मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामापछि मधेस प्रदेशमा नयाँ सत्ता समीकरणको खोजी तीव्र बनेको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १६८(२) अनुसार शुक्रबार साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै सात दलबीच राजनीतिक गतिविधि चर्किएको हो।

सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकार नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेको छ भने लोसपाले पनि मुख्यमन्त्री पद आफ्नो हुनुपर्ने दाबीका साथ आन्तरिक तथा बाह्य समन्वय सक्रिय बनाएको स्रोतहरू बताउँछन्।

यता, सभामुख पद रिक्त भएकाले जसपा नेपालले उक्त पद आफ्नो भागमा पर्नुपर्ने जिकिर गर्दै सक्रिय कूटनीतिक पहल थालेको छ। सात दलबीच नयाँ सत्ता साझेदारीका लागि ‘प्याकेज सहमति’ खोज्ने प्रयास जारी भए पनि सहमति अझै स्पष्ट बन्न सकेको छैन।

मुख्यमन्त्री र सभामुखसहित प्रमुख पदहरूको बाँडफाँट, जिम्मेवारीको भागबन्डा र नयाँ सरकार सञ्चालनको ढाँचा कस्तो हुने भन्ने विषयमा दलहरूबीच एउटै मत नबस्दा अनिश्चितता कायम छ। तर आज दिउँसो १ बजे बस्ने भनिएको सात दलको निर्णायक बैठकले नयाँ राजनीतिक समीकरण तय गर्ने अपेक्षा गरिएको छ।

माओवादी केन्द्रका एक शीर्ष नेताका अनुसार बैठकमै ‘प्याकेज सहमति’ टुंग्याउने प्रयास हुनेछ। “यदि सहमति आजै बनेमा साँझभित्रै दाबी पेश हुन सक्छ, नभए भोली अन्तिम समयसीमाभित्र दाबी पेश गरिनेछ,” उनले बताए।

समयसीमा नजिकिँदै जाँदा जनकपुरमा राजनीतिक जिज्ञासा बढेको छ। आजको बैठकले मधेस प्रदेशको आगामी राजनीतिक मार्गचित्र निर्धारण गर्ने संकेत देखिएको छ, जसले सत्ता ‘रिबूट मोड’ मा प्रवेश गरेको प्रदेशको नयाँ चरण तय गर्नेछ।


सम्बन्धित समाचार