१८ मंसिर,काठमाडौं । अब नेपालमा १०० रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) चलनचल्तीमा ल्याउन बाटो खुलेको छ। भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबीआई) ले नेपालमा उच्च मूल्यका भारु नोट सटही गर्न अनुमति दिएपछि ठूला दरका नोट समेत चलाउन सकिने भएको हो। हाल नेपालमा १०० दरका भारु मात्र प्रचलनमा छन्।
तर यो व्यवस्था तत्काल लागू भने हुँदैन। नेपाल राष्ट्र बैंकले सम्बन्धित परिपत्र जारी गरेपछि मात्र २००, ५०० लगायतका उच्च दरका भारु चलनचल्तीमा आउन सक्नेछ। कारण—राष्ट्र बैंककै निर्देशनका आधारमा अहिलेसम्म ठूला दरका भारु नेपालमा सटहीमा प्रतिबन्धित छन्।
भारतमा अहिले १००, २००, ५०० र २,००० दरका नोट प्रचलनमा छन्। यद्यपि सन् २०२३ देखि २,००० दरका नयाँ नोट छापिँदैनन्। यसैले आरबीआईको नयाँ निर्णयले नेपालमा विशेष गरी २०० र ५०० दरका नोट सटही गर्न सहज बनाएको हो।
सन् २०१६ मा भारतले ५०० र १,००० दरका नोट बदलेपछि नेपालमा रहेका ती नोट अझै साटिएका छैनन्। त्यसैबेला राष्ट्र बैंकले उच्च दरका भारतीय नोट नचलाउने निर्देशन जारी गरेको थियो।
नयाँ व्यवस्थाअनुसार अब भारतीय र नेपाली दुवै नागरिकले २५ हजार रुपैयाँसम्मका भारु नेपाल–भारत भित्र्याउन तथा बाहिर लैजान पाउनेछन्। यसअघि भारतबाट नेपाल २५ हजार रुपैयाँसम्म ल्याउन पाइन्थ्यो, तर नेपालबाट भारत लैजान अनुमति थिएन।

















