१८ मंसिर,वीरगञ्ज । मधेस प्रदेशमा नयाँ सरकार गठनकाे पहल तीव्र बनेसँगै नेकपा एमाले बाहेकका सात दलकाे बैठक जनकपुरमा सुरु भएको छ। प्रदेशसभा सचिवालयमा बिहीबार दिउँसोदेखि शुरू भएको बैठकमा सहभागी दलहरूमध्येका नेता तथा प्रदेश सांसदहरू उपस्थित रहेको लोसपा नेपालका प्रदेश सांसद उपेन्द्र महतोले जानकारी दिए।
महतोका अनुसार यही बैठकबाट नयाँ सरकार गठनकाे प्रारम्भिक छिनोफानो हुने अपेक्षा गरिएको छ। मधेसमा नयाँ सरकारकाे नेतृत्वका लागि नेपाली कांग्रेस र लोसपा दुवैले मुख्यमन्त्री पदमा दाबी गरेका छन्।
यसबीच, प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १६८(२) बमोजिम शुक्रबार साँझ ५ बजेसम्म सरकार गठनकाे दाबी पेस गर्न समय तोकेका छन्।
सर्वोच्च अदालतबाट परमादेश आएपछि विश्वासको मत नपाउने संकेत देखिएपछि विद्यमान मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) ले बुधबार प्रदेशसभा बैठकमै पद राजीनामा दिएका थिए।
प्रदेशमा नयाँ राजनीतिक संयोजनकाे सम्भावनामा सबैको नजर केन्द्रित छ।

















