१८ मंसिर, काठमाडौं । नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया विवादित बनेको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले धनकुटा, दाङ, ओखलढुंगालगायतका जिल्लाहरूमा प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गुन्डुमा भेटेर औपचारिक रूपमा आपत्ति जनाएको छ । उपाध्यक्ष पोखरेलसँगै उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराई भेटवार्तामा सहभागी थिए। उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिनिधि चयनमा ‘विधि बाहिर गएर आफूखुसी निर्णय गर्ने’ र चुनाव भएको क्षेत्रमा परिणाम रद्द गर्ने जस्ता कार्यले महाधिवेशनको निष्पक्षतामाथि नै प्रश्न उठाएको भन्दै अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको जानकारी दिए ।
उनले आफूहरूलाई करिब १५ जिल्लामा महाधिवेशन प्रतिनिधि चयनमा गडबडी भएको गुनासो आएको समेत बताए, जसले महाधिवेशनअघि पार्टीभित्रको आन्तरिक विवादलाई सतहमा ल्याइदिएको छ।

















