१८ मंसिर,वीरगञ्ज । सिटीनेट नेपाल नेशनल च्याप्टर (सीएनएनसी) को राष्ट्रिय बैठक बिहीबार वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। देशभरका ६ महानगर, उपमहानगर तथा नगरपालिकाका प्रमुख–उपप्रमुखहरूको सहभागिता रहेको बैठकको मुख्य आयोजनाकर्ता वीरगञ्ज महानगरपालिका रहेको थियो। बैठकमा शहरी विकास, प्रदूषण व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, शहर–शहरबीच सहकार्य तथा आगामी वर्षका योजनाबारे विस्तृत छलफल गरिएको थियो।
बैठकले नेपालका प्रमुख सहरहरूलाई थप उत्थानशील बनाउने लक्ष्यसहित विपद् जोखिम न्यूनीकरण, अनुसन्धान तथा शिक्षण केन्द्र स्थापना गर्ने प्रस्तावमा सैद्धान्तिक सहमति जनाएको छ। सहभागी नेतृत्वहरूले आगामी साधारण सभा तथा महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनको तयारीबारे समेत गहन छलफल गरेका थिए।
वीरगञ्ज महानगरपालिकाको समन्वयमा विपद् सम्बन्धी कोष स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै नगरपालिका समूह दर्ता, कार्ययोजना तयार, सदस्य नगरपालिकाबीच सञ्जाल दर्ता, focal person तोक्ने, हरेक छ महिनामा बैठक बस्ने, सचिवालय दर्ता प्रक्रिया सुरु गर्ने तथा गोदावरी नगरपालिकाले आगामी जेठ महिनामा बैठक आयोजना गर्ने निर्णयहरू पारित भएका छन्। सहजीकरणका लागि सानो इकाई गठन गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको वीरगन्जका मेयर राजेशमान सिंहले जानकारी दिए।
मेयर सिंहले सिटीनेटमार्फत भएका अनुभव आदानप्रदानले आफ्नो पालिकामा योजनाबद्ध विकास कार्य गर्न महत्वपूर्ण सहयोग पुगेको भन्दै धन्यवाद व्यक्त गरे। अन्य सहभागी पालिकाका प्रमुखहरूले पनि विकास निर्माण, विपद् व्यवस्थापन र आगामी योजनाबारे आफ्ना अनुभव साझा गरेका थिए। बैठकमा प्रा. आममोदनी दीक्षित र डा. गणेशकुमार जिसीले सिटीनेटको अवधारणा, आवश्यकता तथा सञ्चालन सम्बन्धी सिकाइ तथा अनुभव प्रस्तुत गरेका थिए।
कार्यक्रमको उद्घाटन सिटीनेट नेपालका राष्ट्रिय अध्यक्ष तथा विराटनगरका मेयर नागेश कोइराला र वीरगन्जका मेयर सिंहले गमलामा पानी हालेर संयुक्त रूपमा गरेका थिए। बैठकको सुरुमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) का दिवंगत पिताप्रति मौनधारण गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो। स्वागत मन्तव्य वीरगन्ज महानगरका उपमेयर इम्तेयाज आलमले दिए।
एसिया–प्रशान्त क्षेत्रका सहरहरूको सशक्त सञ्जालका रूपमा सिटीनेटले नेपालमा पनि दिगो विकास, जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा स्थानीय सरकारबीच ज्ञान तथा अनुभव आदानप्रदानको प्रभावकारी मञ्च तयार पारेको छ। सिटीनेटमा हाल एसिया भरि १०३ सदस्य छन्, जसमा ५३ एसोसिएट सदस्य, २ संस्थागत सदस्य र २६ अन्तर्राष्ट्रिय संस्थागत सदस्य समावेश छन्। नेपालमा भने १६ पालिका र ८ एसोसिएट सदस्य सिटीनेट नेपाल राष्ट्रिय अध्यायअन्तर्गत आबद्ध छन्।
१ लाखभन्दा बढी जनसंख्याका महानगर—वीरगन्ज, भरतपुर, ललितपुर, विराटनगर, पोखरा—सहित जितपुर सिमरा उपमहानगरसहितका १६ पालिकाहरू यस नेटवर्कमा सक्रिय छन्। सिटीनेटको स्थापना सन् १९८७ मा जापानको टोकियोमा भएको हो। प्रत्येक चार वर्षमा पदाधिकारी परिवर्तन हुने यो संस्थाले जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा दिगो विकासमा स्थानीय सरकारलाई सहजीकरण गर्दै आएको छ। यसको ४५औं बैठक इंडोनेसियामा सम्पन्न भएको थियो, जहाँ नेपालका तर्फबाट ललितपुरका मेयर चिरिबाबु महर्जनले सहभागिता जनाएका थिए।
नेपालमा सिटीनेटको पहिलो कार्यक्रम २०८० सालमा धनगढीमा आयोजित भएको थियो भने राष्ट्रिय च्याप्टर २०८० भदौमा विराटनगरमा स्थापना गरिएको थियो।

















