१९ मंसिर, काठमाडौं । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र राष्ट्रिय राजमार्गको सडक सीमा मिचेर बनाइएका घरटहरा तथा संरचना हटाउन सडक डिभिजन कार्यालय, हेटौंडाले दिएको १५ दिने अल्टिमेटम आज, १९ मंसिरमा सकिँदैछ ।
महेन्द्र राजमार्ग अन्तर्गत रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म सडकको केन्द्र रेखाबाट २५ः२५ गज (७५/७५ फिट) को सीमा विस्तार गर्न लागिएको हो । सर्वोच्च अदालतको आदेशलाई आधार मानेर सडक डिभिजनले मंसिर ५ गते सार्वजनिक सूचना जारी गरी संरचनाहरू आफैं हटाउन घरधनीहरूलाई निर्देशन दिएको थियो, तर तोकिएको समयसीमा सकिँदासम्म पनि सडक सीमा क्षेत्र खाली हुन सकेको छैन ।
यस विस्तारको निर्णयको विरोधमा घरधनी र व्यवसायीहरूले मुआब्जा र क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरिरहेका छन्। प्रदर्शनमा व्यवसायीहरूको मात्रै सहभागिता देखिएको छ भने मकवानपुर उद्योग वाणिज्य संघले भने आन्दोलनमा सहभागी नहुने निर्णय गरिसकेको छ। केही सीमित घरधनीहरूले आफ्ना सामानहरू अन्यन्त्र व्यवस्थापन गरेर घर भत्काउन तयार भए पनि अधिकांश घरधनीहरू भने आन्दोलनमा होमिँदै सडक डिभिजनको कार्यको प्रतिकार गर्ने चेतावनी दिइरहेका छन्। तर, सडक डिभिजन हेटौंडा भने वर्षौंदेखि अलपत्र रहेको सडक विस्तार कार्यलाई अब रोक्न नसकिने अडानमा छ ।
सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार भोलि २० मंसिरदेखि नै अतिक्रमित संरचना हटाउन फिल्डमा उत्रिने तयारी पूरा भइसकेको छ। अब सडक विस्तार कार्य रोकिराख्नु उचित नहुने भन्दै उनीहरूले २० देखि २५ दिनभित्र ५ सय ३१ वटा घर, टहरा र अन्य संरचना हटाइसक्ने लक्ष्य लिएका छन् । कार्यालयसँग पर्याप्त हेभी उपकरणहरू (२० वटासम्म) रहेको र आवश्यकता परेमा थप उपकरणहरू काठमाडौं र जनकपुरबाट समेत मगाउन सकिने प्रमुख अधिकारीले बताएका छन् ।
उनले आवश्यकता अनुसार २–३ ठाउँबाट एकैसाथ संरचना हटाउन सुरु गर्ने र भोलिबाट सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम अगाडि बढाउने जानकारी दिएका छन् । यो कार्य ९।५ किलोमिटर लामो सडकखण्ड (महेन्द्र राजमार्गको ६ दशमलव ३ किलोमिटर र त्रिभुवन राजपथको ३ दशमलव २ किलोमिटर) मा केन्द्रित रहनेछ ।
यसअघि २०७६ असारमा सडक क्षेत्र खाली गराउने क्रममा राप्ती रोडमा स्थानीय र प्रहरीबीच झडप भएको पृष्ठभूमिमा, सडक डिभिजन यो पटक सर्वोच्च अदालतको फैसलालाई टेकेर आफ्नो काम अगाडि बढाउने तयारीमा छ ।

















