Logo

१९ मंसिर, काठमाडौं । काठमाडौंमा जेन–जी आन्दोलनका क्रममा भएको बल प्रयोग, दमन र त्यसपछिको तोडफोडको घटनाबारे जाँचबुझ गर्न गठित आयोगले घटनाका मुख्य जिम्मेवार मानिएका काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजालसँग बयान लिने क्रम जारी राखेको छ ।

इतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि प्रमुख जिल्ला अधिकारी रिजालले नै गोली चलाउन आदेश दिएका थिए । आयोग सम्बद्ध स्रोतका अनुसार रिजालको बयान लगातार तीन दिनदेखि चलिरहेको छ र सम्भवतः शुक्रबार उनको बयान सकिनेछ । आयोगले विशेषगरी आन्दोलनमा बल प्रयोग गर्दा तत्कालीन सिडिओको भूमिका कस्तो रह्यो भन्ने विषयमा केन्द्रित रहेर बयान लिइरहेको छ ।

आन्दोलनलगत्तै नयाँ सरकार गठन भएपछि रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट हटाई हाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । आयोगले उनलाई काठमाडौं उपत्यका नछाड्न आदेश दिनुका साथै उनको पासपोर्ट रोक्का राख्न सिफारिस गरेको थियो। यस घटनामा जोडिएका अन्य सरोकारवालाहरूले भने जिल्लाको शान्तिसुरक्षाको सम्पूर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीकै हुने भएकाले घटनाको जिम्मा उनले नै लिनुपर्ने भनी लिखित जवाफ पेस गरेका छन् । तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले सर्वोच्च अदालतमा लिखित जवाफ दिँदै जिल्लाको शान्तिसुरक्षा सिडिओको क्षेत्राधिकारमा रहने र जिल्लाका सुरक्षाकर्मीहरू पनि उनी मातहत हुने स्पष्ट पारेका थिए ।

यद्यपि, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीले भने सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएको दाबी गरेका थिए। समग्रमा, यस घटनाको छानबिनमा तत्कालीन सिडिओ रिजालको बयान महत्त्वपूर्ण कडीका रूपमा रहेको छ।


सम्बन्धित समाचार