Logo

१९ मंसिर, काठमाडौं । मुलुक संवेदनशील र जटिल मोडमा रहेको ठहर गर्दै ३० जना नागरिक अगुवाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकारलाई कार्यादेश र क्षमताभन्दा बाहिरका माग राखेर कमजोर नबनाउन सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।

जेन–जी आन्दोलनपछि मुलुकको स्थिरतामा देखिएको चुनौतीका बीच उनीहरूले तोकिएको निर्वाचनमा ध्यान केन्द्रित गर्न र त्यसबाटै संवैधानिक प्रक्रियालाई जीवन्त राख्ने बाटोमा अघि बढ्न जोड दिएका छन् ।
विज्ञप्तिमा स्पष्ट भनिएको छ, ‘राज्य कमजोर बनेको यो संवेदनशील घडीमा, निर्वाचनको म्याण्डेट लिएर बनेको सरकारमाथि उसको म्याण्डेट र क्षमताभन्दा बाहिरका माग राख्ने, निहित राजनीतिक, समुहगत वा व्यक्तिगत एजेण्डा अघि सारेर अवरोध गर्ने र अनावश्यक भ्रम छर्ने तथा आशंका फैलाउने गतिविधिहरूले राष्ट्रलाई झनै कमजोर बनाउने निश्चित छ।’

उनीहरूले आगामी फागुन २१ गते निर्धारित मितिमा निर्वाचन हुन नसकेमा उत्पन्न हुने रिक्तता र अनिश्चितताले देशमा गम्भीर र दूरगामी असर पार्न सक्ने चेतावनी दिएका छन्, त्यसैले सबै पक्ष निर्वाचनमै केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । नागरिक अगुवाहरूले सफल निर्वाचनमै सरकारको औचित्य पुष्टि हुने सत्यलाई मनन गर्न सरकारलाई समेत खबरदारी गरेका छन् । उनीहरूले सरकारको प्रयास र कामकारबाही निर्वाचनमै केन्द्रित हुनुपर्ने र बन्दै गएको निर्वाचन वातावरणलाई प्रतिकुल असर पार्न सक्ने कुनै पनि कार्य नगर्न अपिल गरेका छन् ।

केदारभक्त माथेमाको हस्ताक्षर सहित जारी गरिएको सो अपिलमा कनकमणि दीक्षित, खगेन्द्र संग्रौला, भोजराज पोखरेल, हरि शर्मा, चन्द्रकिशोर लगायत ३० जना नागरिक प्रतिनिधिहरूले समर्थन जनाएका छन् ।
मुलुकलाई स्थिरता सहितको लयमा फर्काउनका लागि सरकार, राजनीतिक दलहरू र नवयुवा (जेन–जी) हरू सक्रिय हुनुपर्ने उनीहरूको सामूहिक धारणा रहेको छ ।


सम्बन्धित समाचार