१९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जना विशिष्ट व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिने समूहका मुख्य अभियुक्त प्रकाश पाठक फिलिपिन्समा रहेको खुलेको छ ।
धम्कीसहितको पत्र अख्तियारमा प्राप्त हुनुका साथै भिडिओ समेत सार्वजनिक भएपछि अख्तियारले अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको थियो । जाहेरी प्राप्त भएलगत्तै अनुसन्धानमा जुटेको प्रहरीले मुख्य अभियुक्त पाठक भने विदेशमा रहेको पत्ता लगाएको हो ।
यद्यपि, प्रहरीले पाठकका तीन जना सहयोगीलाई भने पक्राउ गर्न सफल भएको छ । पक्राउ परेकाहरूले आफूहरू प्रकाश पाठकको बडिगार्ड भएको दाबी गरे पनि धम्क्याउने कसुरमा संलग्नता अस्वीकार गरेका छन् । तर, पाठकले ज्यान लिने चेतावनी दिँदै भिडिओ रेकर्ड गराउँदा उनीहरू पनि भिडिओमा देखिएकाले सोही आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, यो घटनामा केही व्यक्तिले उनीहरूलाई परिचालन गरेको हुन सक्ने आशंका गरिएको छ ।
आफूलाई उग्रवादी समूह ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’को अध्यक्ष बताउने पाठकले पठाएको धम्कीपूर्ण पत्रमा अख्तियार प्रमुख राईसहित पूर्वप्रमुख लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, पूर्वगृहमन्त्री रमेश लेखक र बालकृष्ण खाँण, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा, सुडान काण्डमा जोडिएका तीन पूर्वप्रहरी प्रमुख ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने चेतावनी दिइएको छ । धम्कीको सूची सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा उपत्यकाका तीनवटै जिल्लामा उनीहरूको निवासदेखि हिँडडुल र औपचारिक कार्यक्रमहरूमा समेत सुरक्षा निगरानी बढाइएको छ ।
यस धम्कीपूर्ण घटनाको समयलाई लिएर अनुसन्धान अधिकारीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको मुद्दामाथि गम्भीर आशंका व्यक्त गरेका छन् । अख्तियारले अधिकारीसहित ७ जनाविरुद्ध भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा साढे १३ करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । धम्क्याउने समूहले पनि यही मुद्दासँग जोडिएका विषयवस्तु उल्लेख गरेकोले प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई अधिकारी वा अर्का कुनै विवादित व्यापारीले परिचालन गरेको हुन सक्ने आशंका गरेको छ।
यद्यपि, अनुसन्धानको निष्कर्षपछि मात्र संलग्नता पुष्टि हुने प्रहरीको दाबी छ। यसअघि पनि अधिकारीको अनियमितताको समाचार लेख्ने पत्रकारले ज्यान मार्ने धम्की खेपेका थिए, जसले गर्दा पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता संगठनले समेत नेपाल सरकारको ध्यानाकर्षण गराउनुपरेको थियो ।

















