१९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा चलाइएका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीको अनुसन्धानका लागि उनका महत्त्वपूर्ण इलेक्ट्रोनिक उपकरण बरामद गरी डिजिटल फरेन्सिक अनुसन्धान सुरु गरेको छ ।
उच्च स्रोतका अनुसार, अख्तियारको टोलीले बुधबार बिहान अधिकारीलाई उनको निवासबाट पक्राउ गर्ने क्रममा मोबाइल फोन, ल्यापटप र अन्य उपकरणहरू नियन्त्रणमा लिएको हो । अख्तियार स्रोतले दिएको जानकारीअनुसार अधिकारीको शंकास्पद क्रियाकलाप र वित्तीय कारोबारमाथि निगरानी भइरहेको सन्दर्भमा महत्त्वपूर्ण प्रमाणहरू भेटिने आशंकामा ती उपकरणहरू नियन्त्रणमा लिइएको हो । सुरुमा अधिकारीले फोनलगायतका उपकरणहरू दिन केही अवरोध गर्ने प्रयास गरे पनि अख्तियारबाट खटिएको प्रहरीले तत्काल सबै सामग्री नियन्त्रणमा लिएको थियो ।
अब ती उपकरणहरूलाई आयोगको ‘डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा परीक्षण गरी थप अनुसन्धान अगाडि बढाइनेछ । नलिञ्चोक हेलिपोर्ट र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारसम्बन्धी मुद्दाका अलावा सिनामंगलस्थित प्राधिकरण भवन निर्माणलगायतका उजुरीमाथि पनि अधिकारीमाथि अनुसन्धान भइरहेको छ।
अख्तियार स्रोतले अधिकारीले धेरै व्यक्तिलाई रकम बाँडेको र आफूविरुद्धको अनुसन्धानलाई निस्तेज पार्न विभिन्न शक्तिकेन्द्रका मानिसहरू तथा बिचौलिया परिचालन गरेको सूचनाका आधारमा थप प्रमाण खोज्न उपकरणहरू नियन्त्रणमा लिइएको बताएको छ। बुधबार विशेष अदालतमा पेस गरिएका अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीको शुक्रबारदेखि विशेष अदालतमा बयान चलिरहेको छ।

















