१९ मंसिर, काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयनको विवाद उत्कर्षमा पुगेको छ, जसका कारण शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यकर्ताहरूबीच हात हालाहालको स्थिति सिर्जना भएको छ भने अध्यक्ष र वरिष्ठ उपाध्यक्षको समूहबीच रणनीतिगत जोड–घटाउ तीव्र बनेको छ ।
केन्द्रीय कार्यालयमा कार्यकर्ताको झडप
महाधिवेशन प्रतिनिधि छनोटमा लोकतान्त्रिक प्रक्रिया पूरा नगरिएको भन्दै आदिवासी जनजाती लोकतान्त्रिक महासंघसँग आबद्ध असन्तुष्ट कार्यकर्ताहरूले केन्द्रीय कार्यालय च्यासलमा विरोध जनाउने क्रममा अर्को समूहसँग हात हालाहाल भएको छ । डेढ वर्षसम्म पनि संगठनको विधि नमिलाइएको भन्दै आक्रोशित कार्यकर्ताहरूले चर्को स्वरमा आपत्ति जनाएपछि स्थिति तनावग्रस्त बनेको थियो । मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन हुनुअघि नै पार्टी कार्यालयमा भएको यो झडपले प्रतिनिधि छनोट प्रक्रियामा गहिरो असन्तुष्टि रहेको सङ्केत गरेको छ।
ओलीको प्यानल रहस्यमै, पोखरेल समूह अलमलमा
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएपछि करिब २३ सय प्रतिनिधिको हिसाबकिताब चलिरहेको छ । प्रारम्भिक आकलनमा ओली पक्षमा ७० प्रतिशतभन्दा बढी प्रतिनिधि देखिए पनि पोखरेल पक्षले ठूलो संख्यामा प्रतिनिधिहरू कुनै पनि पक्षमा नखुलेकाले परिणाम फरक आउन सक्ने दाबी गरेको छ । प्रतिनिधि छनोट विवाद, खासगरी ओखलढुंगाको विषयलाई लिएर ओलीले ठाडो निर्देशन दिएपछि पोखरेल समूह थप सशंकित बनेको छ र उपाध्यक्षहरूसहित ओलीसँग भेटेर विवाद सचिवालय बैठकबाट समाधान गर्न आग्रह गरेको छ ।
यद्यपि, महाधिवेशनमा चुनाव हुने निश्चित हुँदा पनि अध्यक्ष ओलीले पदाधिकारीको टिम (प्यानल) बारे कुनै संकेत नदिँदा अध्यक्षका दावेदार ईश्वर पोखरेल समूह भने अलमलमा परेको छ । अध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरिसकेका पोखरेल समूहले प्रतिनिधिहरूको मन जित्नका लागि जनताको बहुदलीय जनवाद, मदन भण्डारी र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विरासतको ‘कार्ड’ खेल्न सुरु गरेको छ ।
उनीहरूले एमालेको वास्तविक वैचारिक विरासत आफूहरूसँग रहेको दाबी गर्दै संस्थापक नेताहरूको तस्बिरसमेत प्रचार सामग्रीमा राखेका छन् । दुई प्यानल बनाएर चुनावमा जाँदा विभाजन देखिने भन्दै केही नेताहरूले मिलाएर लैजान लबिइङ गरे पनि पोखरेल स्वस्थ प्रतिस्पर्धामा उत्रिने अडानमा छन् ।

















