१९ मंसिर, काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने सन्दर्भमा विविध पक्षहरूमा छलफल गर्न शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा राजदूत तोरुले आगामी निर्वाचन समयमै गराउने नेपाल सरकारको सङ्कल्पको प्रशंसा गर्दै यसका लागि आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहोर्याएका छन् ।
प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकासलगायत विभिन्न क्षेत्रमा पुर्याउँदै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरेकी छिन् । साथै, उनले आगामी दिनमा पनि दुई देशबीच सहयोग र सद्भाव कायम रहने विश्वास व्यक्त गरेकी छन् ।

















