१९ मंसिर, काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाएका ११ जना राजदूतमध्ये ६ जनाले पदबाट राजीनामा दिएका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार राजीनामा दिएका सबै ६ जना राजदूतको राजीनामा सरकारले स्वीकृत गरिसकेको छ । पछिल्लो समय रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान र मलेसियाका लागि नेपाली राजदूत डा.नेत्रप्रसाद तिमल्सिनाले राजीनामा दिएका हुन् ।
यसअघि अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली, बेलायतका लागि चन्द्रकुमार घिमिरे र कतारका लागि रमेशचन्द्र पौडेलले राजीनामा दिईसकेका थिए । सरकारले उनीहरूको कार्यप्रगतिमाथि प्रश्न उठाउँदै गत असोज ३० गते ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले कात्तिक १६ गते अन्तरिम आदेश जारी गर्दै मुद्दाको टुंगो नलाग्दासम्म सो निर्णय कार्यान्वयन नगर्न भनेपछि सरकारले उनीहरूलाई मन्त्रालयमा हाजिर भएर कामकाज गर्न बोलाएको थियो ।
राजीनामा नदिने राजदूतहरू शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नरेशविक्रम ढकाल (साउदी अरब), शनिल नेपाल (स्पेन) र डा. दुर्गाबहादुर सुवेदी (जापान) भने हाल मन्त्रालयमा दैनिक हाजिर भई सर्वोच्चको मुद्दाको अन्तिम फैसलाको प्रतीक्षा गरिरहेका छन् ।

















