१९ मंसिर,वीरगञ्ज । पर्साको पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर ३ स्थित स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा अल्ट्रासाउन्ड सेवा विगत चार महिनादेखि बन्द हुँदा त्यस क्षेत्रका गर्भवती महिलाहरु सबैभन्दा बढी समस्यामा परेका छन्।
स्वास्थ्य चौकी इन्चार्ज रामनाथ महत्तोका अनुसार, उक्त बर्थिङ सेन्टरमा गत साउन महिनादेखि निःशुल्क अल्ट्रासाउन्ड सेवा स्थायी रुपमा बन्द भएको हो। यो सेवा गत बैशाखदेखि मात्र सुरु भएको थियो। महत्तोका अनुसार, अल्ट्रासाउन्ड सेवा सञ्चालन गर्ने दुई स्वास्थ्यकर्मी—तालिमप्राप्त स्टार्फ नर्स र अनमी—ले गाउँपालिकाबाट प्राप्त अतिरिक्त भत्ता नपाउँदा सेवा बन्द हुन पुगेको हो। स्टार्फ नर्सले दैनिक १५ सय रुपैयाँ र अनमीले दैनिक १ हजार रुपैयाँ भत्ता पाउँदै आएका थिए। तर, गाउँपालिकाको स्वास्थ्य शाखाले साउनदेखि उक्त भत्ता उपलब्ध नगराउने पत्र पठाएपछि सेवामा रोक लागेको इन्चार्ज महत्तोले जानकारी दिए।
उक्त बर्थिङ सेन्टरबाट दैनिक १५–२० जना गर्भवती महिलाले निःशुल्क अल्ट्रासाउन्ड सेवा लिंदै आएका थिए। तर साउनदेखि सेवा बन्द भएपछि महिलाहरूलाई पोखरिया र वीरगन्जको स्वास्थ्य संस्थामा जानु पर्ने बाध्यता परेको छ।
स्थानीय युवा अकलेश साहले भने, “गाउँकै स्वास्थ्य चौकीबाट निःशुल्क उपलब्ध हुने अल्ट्रासाउन्ड सेवा बन्द हुँदा गरिब र विपन्न परिवारका गर्भवती महिलाहरूले निजी अस्पतालमा महँगो शुल्क तिरेर मात्र सेवा लिनुपर्दा सबैभन्दा बढी मारमा परेका छन्।”
सेवा पुनः सुचारु गराउनका लागि स्थानीय युवाहरूको समूहले डेढ महिनाअघि गाउँपालिकाका अध्यक्ष सुरेश मेहतालाई ध्यानाकर्षणपत्र बुझाए पनि अहिलेसम्म कुनै सुनुवाई नभएको गुनासो छ।

















