२० मंसिर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत शनिबार दुई खेल आयोजना हुने भएका छन् ।
दिवसको पहिलो खेल बिहान ११ः१५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच हुनेछ। यस्तै दोस्रो खेल दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
सुदूरपश्चिम रोयल्स लगातारको उत्कृष्ट प्रदर्शनका साथ अपराजित रहँदै छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरिसकेकाले यस खेलमा उसलाई खास दबाब रहने छैन। यद्यपि प्लेअफमा आठ अङ्कसहित स्थान पक्का गरिसकेको विराटनगर किङ्ग्सका लागि भने पहिलो क्वालिफायरमा पुग्न यो खेल निर्णायक हुनेछ ।
विराटनगरले सुदूरपश्चिमविरुद्ध राम्रो रनरेटसहित जित हात पारेमा सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्नेछ। पराजय व्यहोर्नुपरेमा भने उसले लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल खेल्नुपर्नेछ। त्यस अवस्थामा पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र काठमाडौँ गोर्खाजबीच भिडन्त हुनेछ ।
दिउँसो हुने दोस्रो खेलमा भने प्लेअफको दौडबाट बाहिरिसकेका चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिष्ठाको लडाईं मात्र हुनेछ । दुवै टोलीले छ–छ खेल खेल्दै समान चार–चार अङ्क मात्र जोड्न सकेका छन् ।
एनपीएलको दोस्रो संस्करण समापनतर्फ उन्मुख भएसँगै प्रत्येक खेलको नतिजाले प्लेअफ समीकरण थप रोचक बनाउँदै लगेको छ ।

















