२० मंसिर, जनकपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज जनकपुरधामको तिरहुतिया गाछीमा प्रदेशस्तरीय सन्देश सभा आयोजना गर्ने भएको छ।
प्रदेशस्तरमा निरन्तर सन्देश सभा गर्दै आएको नेकपाले जनकपुरमा आयोजना गर्न लागेको सभामार्फत पार्टीको सांगठनिक सन्देश र राजनीतिक धारणा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता महिन्द्र राय यादव, राजेन्द्र पाण्डे, मातृका यादव लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उक्त सन्देश सभा आज दिउँसो १ बजे सुरु हुनेछ। सभामा प्रदेशका विभिन्न जिल्लाबाट पार्टी नेता-कार्यकर्ताको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

















