२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १४८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन जोड्यो। दुवै टोली प्लेअफमा पुगिसकेका बीच आजको खेलले दोस्रो स्थानको टुङ्गो लगाउनेछ। सुदूरपश्चिम पहिले नै शीर्ष स्थान सुनिश्चित गरिसकेको छ।
यदि विराटनगरले १३ ओभरभित्र लक्ष्य पूरा गर्न सकेमा ऊ काठमाडौ गोर्खाजलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएर पहिलो क्वालिफायरमा सुदूरसँग भिड्नेछ। अन्य अवस्थाहरूमा भने काठमाडौँ गोर्खाज नै दोस्रो स्थान सुरक्षित गर्नेछ।
सुदूरपश्चिमका लागि आरिफ शेख अविजित रहँदै उत्कृष्ट प्रदर्शन गरे। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन बनाए। इशान पाण्डेले ३५ बलमा २ चौका र २ छक्कासहित ३८ रन जोडे। तेस्रो विकेटका लागि इशान र आरिफबीच ७२ रनको महत्वपूर्ण साझेदारी रह्यो।
ओपनर जोश ब्राउनले २५ बलमा २४ रन जोड्दा, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ छक्का सहित १९ रन बनाए। विनोद भण्डारीले १३ बलमा १५ रनको योगदान दिए।
विराटनगरका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। प्रतिश जिसीले अन्तिम ओभरमा मात्र बलिङ गर्दै ४ रन दिएर २ विकेट झारे भने बसिर अहमदले १ विकेट हात पारे।
अब विराटनगरले १४८ रनको लक्ष्य हासिल गर्दै अंक तालिकामा महत्वपूर्ण उकाइ गर्ने अवसर पाएको छ।

















