Logo

२० मंसिर,वीरगञ्ज । सात दलीय गठबन्धनमा जारी रस्साकस्सीपछि नेपाली कांग्रेसले मधेश प्रदेशको मुख्यमन्त्रीपदमा बाजी मारेको छ। कांग्रेसका कृष्णप्रसाद यादव प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

यादवको नियुक्तिसँगै सात दलीय गठबन्धनभित्र सभामुख पद र मन्त्रिमण्डल विस्तारका विषयमा वार्ता सुरु भएको छ। स्रोतका अनुसार कांग्रेसले मुख्यमन्त्री पाएको भएतापनि सभामुख पद लगभग पक्का जसपा नेपालको पक्षमा जाने देखिन्छ।

नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले आइतबारसम्म प्याकेजमै सबै विषयमा सहमति हुने दाबी गरेका छन्। उनले सभामुख पददेखि विभिन्न मन्त्रालयसम्मका विषय सात दलीय गठबन्धनको बैठकमा टुंगो लाग्ने बताए।

स्रोतका अनुसार मुख्यमन्त्री कांग्रेसले पाएपछि जसपा नेपालले सभामुख पदका साथै भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी गरेको छ। त्यस्तै, जनमत पार्टीले अर्थ मन्त्रालय पाउने दाबी गरेको छ।

नवनियुक्त मुख्यमन्त्री यादव आइतबार शपथसंगै पदभार ग्रहण गर्ने भएका छन्। त्यसपछि मन्त्रिमण्डल गठन र सभामुखको टुंगो लाग्ने अपेक्षा गरिएको छ।

नयाँ सरकारसँगै सात दलीय गठबन्धन मधेश प्रदेश सभामा दुई तिहाईभन्दा बढी मत बलियो रहेको छ। यादवलाई कांग्रेससहित जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन प्राप्त छ।

सात दलीय गठबन्धनमा कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपा नेपालका ८, नेकपा एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ गरी जम्मा ७८ जना प्रदेश सांसद छन्। विरोधी दल नेकपा एमालेका २५ र संघीय समाजवादी पार्टीका १ जना सांसद मात्रै छन्।


सम्बन्धित समाचार