Logo

२० मंसिर,वीरगञ्ज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताको आवश्यकताबारे जनवर्गीय र मोर्चा संगठनहरूलाई व्यापक प्रचार–प्रसार गर्न निर्देशन दिएको छ। पार्टीले पहिलो अन्तर पार्टी (अपानि) निर्देशन जारी गर्दै एकताको औचित्य, महत्व र सहमतिहरूको प्रचार–प्रसारलाई विशेष प्राथमिकतामा राख्न भनिएको छ।

निर्देशनमा प्रचार र प्रकाशनको कामलाई पार्टी निर्माणको आधारभूत अंगको रूपमा प्रस्तुत गरिएको छ। अपानिमा भनिएको छ, “प्रचारात्मक काम मानिसको शरीरमा रक्तसञ्चार जस्तै हुन्छ। यसलाई व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउनु अनिवार्य छ।”

पार्टीले प्रदेश, जिल्ला, संघीय निर्वाचन क्षेत्र, पालिका, वडा र टोलहरूमा पार्टी तथा जनवर्गीय संगठनका कार्यालय स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्न समेत निर्देशन दिएको छ। पार्टी कार्यालयलाई सूचना संकलन, सम्पर्क र पार्टी कामको केन्द्र मान्दै तत्काल सञ्चालन आवश्यक ठहर गरिएको छ।

प्रचारात्मक कामका लागि दिइएका निर्देशन यस्ता छन् :

१. पार्टी एकताको ऐतिहासिक आवश्यकता, औचित्य, महत्व र एकीकरणका सन्दर्भमा भएका सहमतिहरूको व्यापक प्रचार–प्रसार गर्ने ।

२. नेपाली कम्युनिस्ट पार्टीका नीति, सिद्धान्त, विचार, कार्यक्रम, कार्यदिशा, घोषणापत्र र प्रतिबद्धताहरूको आम जनता र कार्यकर्ताबिच व्यापक प्रचार गर्ने ।

३. एकतामा सहभागी पार्टीका नेता, कार्यकताबीच एकआपसमा सौहार्दता, समझदारी र भावनात्मक एकता कायम गर्ने सामग्रीहरू प्रचार गर्ने ।

४. निर्वाचनमा मतदाताहरूलाई आकर्षित गर्ने नयाँ–नयाँ प्रचार सामग्रीहरू उत्पादन र ती सामग्रीहरूको व्यवस्थित प्रचारको काम गर्ने। प्रचार कार्यलाई आक्रामक बनाउने ।

५. विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल, पर्चा, टिसर्ट, क्याप, स्टिकर, पोष्टरलगायत विभिन्न तरीकाबाट पार्टीको चुनाव चिन्ह पाँचकुने ‘तारा’ को व्यापक रूपमा प्रचार गर्ने ।

६. नवयुवा पुस्ता र आधारभूत वर्गका व्यक्तिहरूलाई पार्टीमा जोडिन प्रेरित गर्ने सामग्रीहरू प्रचार गर्ने ।

७. विभिन्न सञ्चार माध्यमहरू, सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूलगायत प्रचारका सबै माध्यमहरूलाई पार्टीको पक्षमा सदुपयोग गर्ने ।

८. पुराना, भद्दा प्रचारका तरिकाको सट्टा आजको वस्तुगत परिस्थितिअनुसार आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी प्रचारलाई सहज, छरितो र जनताको दिल छुने गरी प्रचार अभियान सञ्चालन गर्ने ।

९. ह्वाट्सएप, मेसेन्जर, भाइवर ग्रुपहरू बनाएर व्यवस्थितरूपमा चलाउने, पार्टी र चुनावी सामाग्रीहरू प्रचार गर्ने, त्यस्ता सामग्रीहरू शेयर र पोष्ट गर्ने कामलाई व्यापक बनाउने ।

१०. आ–आफ्नो क्षेत्रमा उपयुक्त हुने, सुहाउँदो प्रविधिमैत्री प्रचारका माध्यम र तरिकाहरू अपनाउने ।


सम्बन्धित समाचार