२० मंसिर,वीरगञ्ज । निर्माण क्षेत्रमा प्रचलित ‘नेपवेल्ड क्वालिटी ग्यारेन्टेड’ ब्रान्डको वेल्डिङ रडमा ठूलो ठगी भएको खुलासा भएको छ। वीरगञ्जस्थित केके इम्पेक्स प्रालिले चीनबाट आयात गरी देशभर आपूर्ति गरेको यो ब्रान्डमा प्याकेटको तौल, मूल्य र उत्पादनसम्बन्धी विवरणमा गम्भीर अनियमितता देखिएको हो।
उपभोक्ताका अनुसार, ५ किलो लेखिएको प्याकेटको वास्तविक तौल ४.९४०–४.९६० किलो मात्र नापिएको छ। प्रत्येक प्याकेटमा ४०–६० ग्रामसम्म तौल कम हुँदा निर्माण परियोजनामा ठेकेदारहरूले लाखौँ रुपैयाँ क्षति भोगिरहेका छन्।
त्यसैगरी, अधिकांश प्याकेटमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएकाले पसलेहरूले मनपरी मूल्य निर्धारण गर्ने सुविधा पाएका छन्। हाल वीरगञ्ज बजारमा प्याकेट ७००–७५० रुपैयाँमा बिक्री भइरहेको छ।
उत्पादनसम्बन्धी विवरण पनि अस्पष्ट छ। प्याकेटमा केवल ‘चीनमा उत्पादित’ उल्लेख छ, तर कम्पनीको नाम, प्रान्त वा शहरको जानकारी, लोगो, ठेगाना वा सम्पर्क विवरण छैन।
कानुनको स्पष्ट उल्लङ्घन भएको पर्साका प्रमुख, गुणस्तर तथा नापतौल कार्यालय कमलप्रसाद ओझाले बताए। उनका अनुसार, “प्याकेटमा लेखिएभन्दा कम तौल भेटिएमा गुणस्तर तथा नापतौल ऐन र उपभोक्ता संरक्षण ऐनअनुसार कडा कारबाही अनिवार्य छ। उपभोक्ताले ल्याएका सामान तुरुन्तै जाँच गराउन सकिन्छ।”
घटनापछि वीरगञ्जका वेल्डर, ठेकेदार र निर्माण व्यवसायीहरू आक्रोशित बनेका छन्। उनीहरूले बजारमा छापा मारेर सबै स्टक जफत गर्न र आयातकर्तामाथि मुद्दा चलाउन सम्बन्धित निकायहरूलाई माग गरेका छन्।
व्यवसायीहरूले चेतावनी दिएका छन् कि स्थानीय बजारमा यस्ता तौल र सूचनासम्बन्धी ठगी रोक्न सम्बन्धित निकाय सक्रिय नबने, निर्माण क्षेत्र र उपभोक्ताको विश्वास थप कमजोर हुनेछ।

















