Logo

२० मंसिर,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल र समन्वय अघि बढाउन निर्देशन दिएको छ। पार्टीले यसका लागि अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ।

अपानिमा भनिएको छ, “निर्वाचनको वातावरण बनाउन सबै तहमा राजनीतिक दल, सञ्चारमाध्यम, बौद्धिक समुदाय, व्यवसायी र नागरिक समाजसँग बैठक, वार्ता र अन्तरक्रिया गर्नुपर्छ।” साथै पार्टीले केन्द्रमा सरकार र निर्वाचन आयोगसँग, प्रदेश र स्थानीय तहमा सम्बन्धित निर्वाचन तथा सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्य गर्न पनि भनेको छ।

पार्टीले जनताबीच पार्टीको चुनाव चिह्न ‘तारा’ चिनाउन, संघीय र प्रदेश सरकार तथा स्थानीय तहमा गरेका जनपक्षीय काम र भ्रष्टाचार विरोधी उपलब्धिहरूको प्रचार–प्रसार गर्न पनि निर्देशन दिएको छ। अपानिमा उल्लेख छ कि भ्रष्टाचार, कुशासन र अनियमितताका घटनाहरू संकलन गर्ने तथा विकास निर्माण, रोजगारी, सुशासन र सामाजिक न्यायका पक्षमा आवाज बुलन्द गर्ने कार्य अगाडि बढाउनुपर्नेछ।

साथै, पार्टीले मतदाता शिक्षा, तालिम, प्रशिक्षण, गोष्ठी, बैठक र भेला जस्ता कार्यक्रम सञ्चालन गर्न र निर्वाचनको तयारीमा केन्द्रित रचनात्मक तथा प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिएको छ।

पार्टीले निर्धारित समयमा शान्तिपूर्ण, स्वतन्त्र, धाँधलीरहित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिएको छ। अपानिमा भनिएको छ, “देशलाई राष्ट्रिय संकटबाट निकास दिन, संविधानको कार्यान्वयन सुनिश्चित गर्न, जनक्रान्तिका उपलब्धिहरू रक्षा गर्न, सामाजिक न्याय, सुशासन, समृद्धि र समाजवादका आधार निर्माण गर्न निर्वाचन अपरिहार्य छ।”


सम्बन्धित समाचार
भर्खरै