Logo

२० मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन सुरु गरेको छ।

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज भर्चुअल माध्यम (जुम) मार्फत सुझाव सङ्कलन गर्ने जानकारी प्रवक्ता मनिष झाले दिएका छन्। कार्यदलमा डा. वाग्ले सँगै केन्द्रीय सदस्य डा. अरनिको पाँडे, डा. नन्दन यादव र क्रान्तिशिखा धिताल पनि रहेका छन्।

साथै, रास्वपाले निर्वाचन लक्षित गतिविधि तीव्र बनाएको छ। पार्टीले अधिवेशन, सङ्गठन विस्तार र समानुपातिक प्रणालीमार्फत उम्मेदवारी दिने आह्वान गर्दै प्रारम्भिक निर्वाचन व्यवस्थापनका लागि अडिट समितिलाई सक्रिय बनाएको छ। समितिले उम्मेदवार छनोटका सबै पक्षलाई तथ्यपरक रूपमा मूल्याङ्कन गर्ने जनाएको छ।

निर्वाचन केन्द्रित प्रशिक्षणका लागि केन्द्रीय प्रशिक्षण विभागले अनलाइन तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, जिल्ला भेला, पूर्वउम्मेदवारहरूसँग छलफल र सङ्गठन सुदृढीकरणका कार्यक्रमहरू पनि अघि बढाइँदै छन्।

रास्वपाले राजनीतिक अध्ययन कार्यदल, निर्वाचन रणनीति कार्यदल र सञ्चारमाध्यम अध्ययन कार्यदल समेत गठन गरेको छ, जसले नीति विश्लेषणदेखि रणनीति निर्माणसम्मको काम सम्हाल्ने जनाइएको छ।


सम्बन्धित समाचार
भर्खरै