२० मंसिर,काठमाडौं । विराटनगर किङ्ग्सले सुदूरपश्चिम राेयल्सलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायरमा स्थान सुनिश्चित गरेको छ। सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ५ विकेट गुमाएर ११ ओभर ५ बलमै पुरा गर्दै नेट रनरेटमा काठमाण्डु गोर्खाजलाई पछि पार्दै शीर्ष–२ मा रहँदै क्वालिफायरमा प्रवेश गरेको हो।
विराटनगरका साम हिजलेटले ५१, फाफ डु प्लेसिसले ५० र मार्टिन गप्टिलले २२ रन बनाए। सुदूरपश्चिमका अविनाश बोहराले २ विकेट लिए।
यो सुदूरपश्चिमको प्रतियोगितामा पहिलो हार हो। अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहेका सुदूरपश्चिम र दोस्रो स्थानमा रहेको विराटनगरबीच पुनः भिडन्त हुनेछ। त्यस्तै, इलिमिनेटरमा तेस्रो स्थानको काठमाण्डु र चौथो स्थानको लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ।
पहिलो क्वालिफायरमा विजयी टोली सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोली दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेतासँग खेल्नेछ। इलिमिनेटरमा विजयी हुने टोली दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ भने हार्ने टोलीको यात्रा समाप्त हुनेछ।
आजको दोस्रो खेल दिउँसो ४ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ। लिग चरणको अन्तिम खेल भोलि दिउँसो साढे ३ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेलिनेछ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु भएको हो र प्रतियोगितामा ८ टोली सहभागी छन्। फाइनल खेल यही मंसिर २७ गते हुनेछ।

















