Logo

२१ मंसिर, काठमाडौं । भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण सम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीको विशेष अदालतमा थुनछेक बहस भइरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार महानिर्देशक अधिकारीसहित सात जनाविरुद्ध १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचारको आरोप र अख्तियारको निष्कर्ष

विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा जारी रहेको यो बहसमा अख्तियारले महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।

अख्तियारको ठहर अनुसार साढे १७ करोड लागत अनुमानमा तयार गरिएको हेलिपोर्ट सञ्चालनयोग्य नरहेको, असुरक्षित र अनुपयुक्त स्थानमा व्यावसायिक योजना, लाभ, लागत विश्लेषणविना अस्वाभाविक रकम खर्च गरेर निर्माण गरिएको छ । अख्तियारले बदनियतपूर्ण तरिकाले आयोजना अघि बढाएको र अनेकौँ प्रक्रियागत त्रुटि भएका कारण सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी भएको निष्कर्ष निकालेको छ ।

प्रतिवादीहरू र बिगो रकम

यस भ्रष्टाचार मुद्दामा महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक भण्डारीसहित प्राधिकरणका प्रबन्धक नलविक्रम थापा, उपप्रबन्धक इन्जिनियर सवृद्धि श्रेष्ठ र परामर्शदाता कम्पनी अभियन्त्र कन्सल्टिङ प्रालिका तत्कालीन सञ्चालक विजय थापा तथा परामर्शदाता गुरुदत्त अधिकारीलाई समेत प्रतिवादी कायम गरिएको छ । उनीहरू सबैविरुद्ध जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो माग गरिएको छ।


सम्बन्धित समाचार