२२ मंसिर, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा निकाय र निर्वाचन आयोगले १० हजार ९२६ मतदानस्थल रहने गरी प्रारम्भिक तयारी गरेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार यो संख्यामा केही थपघट हुन सक्ने भए पनि, अघिल्लो निर्वाचनको अनुभव र अहिलेको मतदाता संख्यालाई आधार मानेर तयारी गरिएको हो । सुरक्षा चुनौतीको विश्लेषण गर्दै यी मतदानस्थलहरूलाई वर्गीकरण गरिएको छ, जसमध्ये ३ हजार ५१८ मतदानस्थलहरूलाई ‘अति संवेदनशील’ को सूचीमा राखिएको छ ।
सुरक्षा संवेदनशीलता र वर्गीकरण
सुरक्षा निकायको रिपोर्ट र जोखिम मूल्यांकनका आधारमा मतदानस्थलहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरिएको छ । अति संवेदनशील ३ हजार ५१८ मतदानस्थल, संवेदनशील ४ हजार ५२९ मतदानस्थल र सामान्य २ हजार ८७९ मतदानस्थल छन् । संवेदनशील र अति संवेदनशील सूचीमा तराईका जिल्लाहरू बढी परेका छन् । यसैगरी, कुल २२ हजार ३०४ मतदान केन्द्र रहने तयारीमध्ये ७ हजार १५० केन्द्रहरूलाई अति संवेदनशील र ९ हजार ३२० केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ ।
तीन घेराको सुरक्षा र नयाँ चुनौती
निर्वाचनमा सुरक्षा व्यवस्थालाई सुदृढ पार्न मतदान केन्द्र र स्थलहरूको सुरक्षाका लागि तीन घेरामा सुरक्षा निकाय परिचालन गरिने भएको छ। पहिलो ९भित्री० घेरामा म्यादी प्रहरी, गुप्तचर र नेपाल प्रहरी खटिनेछन्, दोस्रो (मध्य) घेरामा सशस्त्र प्रहरी बल र सबैभन्दा बाहिर (तेस्रो) घेरामा नेपाली सेना परिचालन हुनेछ।
गृहमन्त्रालयका अनुसार यो पटकको निर्वाचनमा सुरक्षा चुनौती जटिल बनेको छ। विगतमा भएका जनजी आन्दोलनका क्रममा १४ हजारभन्दा बढी कैदी फरार हुनु (जसमध्ये ५ हजारभन्दा बढी अझै बाहिरै छन्) र प्रहरीका १ हजार २७१ हतियार तथा ९८ हजार लाइभ राउन्ड गोली हराउनु जस्ता कारणले सुरक्षा संवेदनशीलता बढेको र त्यसैलाई आधार मानेर मतदानस्थलहरूको वर्गीकरण गरिएको हो ।
यसका लागि १ लाख ३२ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको र उनीहरूलाई ‘निर्वाचन सुरक्षा प्रहरी’ भनिने तयारी छ।
















