२१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गर्ने निर्णय गरेको छ ।
अख्तियार स्रोतका अनुसार, अहिले विशेष अदालतमा मुद्दा दायरको प्रक्रिया चलिरहेको छ। अख्तियारले यो प्रकरणमा आठ अर्ब ३६ करोड रुपैयाँको बिगो मागदाबी गर्दै तत्कालीन पाँच जना पूर्वमन्त्रीसहित विभिन्न व्यक्तिहरूलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । अख्तियारले प्रतिवादी बनाउने निर्णय गरेका पूर्वमन्त्रीहरूमा भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य र रामशरण महत रहेका छन् ।
त्यस्तै, तत्कालीन मन्त्री पोष्टबहादुर बोगटीको निधन भइसकेकाले उहाँकी पत्नी राममाया बोगटीलाई समेत प्रतिवादी बनाइएको छ। अख्तियारको टोली अहिले मुद्दा दर्ताका लागि आवश्यक कागजातसहित विशेष अदालत पुगेको छ ।
















