Logo

२१ मंसिर, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ‘चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड’ लाई पनि प्रतिवादी बनाएको छ ।

सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सम्झौता गरेको उक्त चिनियाँ कम्पनीलाई ‘टर्न की प्रोजेक्ट’ को रूपमा विमानस्थल निर्माण गर्ने जिम्मेवारी दिइएको थियो ।

लागत जोगाएर सार्वजनिक सम्पत्तिको हानि गरेको आरोप

चिनियाँ ऋण सहयोगमा बनेको यो आयोजनामा सम्झौता अनुसार ४५ मिटर चौडा र २५०० मिटर लामो रन(वे सहितको विमानस्थल डिजाइन, सामग्री खरिद र निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई बुझाउनुपर्ने थियो । तर, अख्तियारको अनुसन्धान अनुसार, विमानस्थल निर्माणस्थलमा ५ किलोमिटर टाढाबाट माटो र ग्राभेल ल्याएर भर्नुपर्ने सम्झौता भए पनि चिनियाँ कम्पनीले निर्माणस्थलकै माटो र ग्राभेल प्रयोग गर्यो । कम्पनीले माटो ओसारपसारमा छुट्याइएको ८० लाख अमेरिकी डलर बराबरको ठूलो खर्च जोगाएर सार्वजनिक सम्पत्तिको हानि गरेको अख्तियारको आरोप छ ।

परामर्शदाता पनि ठेकेदारकै भगिनी संस्था

यो आयोजना चिनियाँ ऋणमा बनेकाले चिनियाँ कम्पनीले मात्र प्रतिस्पर्धा गर्न पाउने सर्त थियो । सोही सर्तअनुसार चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी छानिएको थियो भने कम्पनीकै भगिनी संस्थाको रूपमा विकास गरिएको आईपीपीआर मुख्य परामर्शदाता कम्पनीको रूपमा चयन भएको थियो । यसले परामर्शदाता कम्पनीहरू ठेकेदार कम्पनीको कामलाई सदर गर्न मात्रै नियुक्त गरिएको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।


सम्बन्धित समाचार