२१ मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र भएको आगजनी, लुटपाट र तोडफोडलाई नेपालको इतिहासकै सबैभन्दा दुःखद घटना भएको बताउनुभएको छ ।
आइतबार सिंहदरबारस्थित क्षति पुगेका सरकारी भवनहरूको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभयो ।
सिंहदरबारको अवस्था हेर्दा दुःख लाग्यो
पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘भदौ २४ गते जुन घटना भयो, सरकारी भवनहरू तोडफोड, आगजनी, लुटपाटका घटना भए। यहाँको अवस्था हेर्दा धेरै दुःख लाग्यो।’ उहाँले यस्ता घटना नेपाली जनताका लागि दुःखद भएको र नेपालको इतिहासमा यस्तो कहिल्यै नभएको बताउँदै भविष्यमा पनि यस्ता घटनाहरू दोहोरिन नहुने धारणा राख्नुभयो ।
पुनर्निर्माणमा सरकारले ध्यान दिने विश्वास
क्षतिग्रस्त संरचनाहरूको अवलोकनपछि उहाँले नेपाल सरकारले उक्त भवनहरूको चाँडै पुनःनिर्माण गरेर पुरानो अवस्थामा ल्याउने विश्वास व्यक्त गर्नुभयो । सिंहदरबार मुलुकको प्रमुख प्रशासनिक केन्द्र भएकाले यसको यथाशीघ्र पुनर्निर्माण हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
















