२१ मंसिर, वीरगञ्ज । सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जले २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता–२०८२ आइतबार सम्पन्न भएको छ। रेडियो इतिहासमै पहिलोपटक आयोजना गरिएको यो प्रतियोगितामा विभिन्न मिडियामा कार्यरत पत्रकार र विद्यार्थी गरी ४२ जनाको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा ठोरीका माधव तिमिल्सिना प्रथम, बारा सिमराकी लक्ष्मी खरेल द्वितीय र वीरगञ्जका सुर्यनारायण विक तृतीय घोषित भए। प्रथम भएका तिमिल्सिनाले २० हजार, द्वितीय भएका खरेलले १५ हजार, र तृतीय भएका विकले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
यस्तै, उत्कृष्ट प्रस्तुति दिएका सुरेश बिडारी, बिमला गुप्ता र आर्जु देवकोटालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।
वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले विजेताहरुलाई पुरस्कार र सम्मानपत्र प्रदान गरे। साथै प्रतिस्पर्धामा सहभागी विद्यार्थीमध्ये वीरगञ्ज पब्लिक कलेजका अमरप्रित कौर, वीरगञ्ज कलेजकी फारिदा खातुन, र ज्ञानदा एकेडेमीकी प्राथना अधिकारीलाई प्रोत्साहनस्वरूप १५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो।
उक्त प्रतियोगितामा मिडियामा क्रियाशील १४ जना पत्रकार तथा २८ जना विद्यार्थी प्रतिस्पर्धामा उत्रिएका थिए। विजेतालाई मेयर सिंहसँगै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र रेडियोका अध्यक्ष गोविन्द देवकोटाले संयुक्त रूपमा सम्मान गरेका थिए।
प्रतियोगिताको मूल्यांकन लक्ष्मण कार्की, प्रतिमा चौधरी र सन्तोष देउजाले गरेका थिए। रेडियोका अध्यक्ष गोविन्द देवकोटाका अनुसार नयाँ पुस्तामा रेडियोप्रति आकर्षण बढाउने र समाचार वाचनमा संलग्न कर्मशील युवालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिका प्रमुख जसवन्त यादव, वीरगञ्ज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्ण, नेपाल पत्रकार महासंघ केन्द्रिय लेखा संयोजक केसी लामिछाने, प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्सा प्रहरी प्रमुख सुदिपराज पाठक लगायतको उपस्थिति थियो।
कार्यक्रमको अध्यक्षता नारायणी एफएमका कार्यकारिणी अध्यक्ष गोविन्द देवकोटाले गरेका थिए। भने कार्यक्रम संचालन नारायणी एफ.एम.का कार्यकारी निर्देशक शिवनाथ यादवले गरेका थिए ।
















