Logo

२२ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले लामो समयदेखि पर्खिएको तरकारी तथा फलफूलको थोक बजार रेल्वे सडकस्थित छपकैयाँमा सञ्चालनमा ल्याएको छ। यससँगै वीरगञ्जमा थोक बजारको अभाव परिपूर्ति हुने र व्यापार थप व्यवस्थित हुने विश्वास लिइएको छ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यसलाई व्यवस्थित र सफा राख्न छपकैयाँवासीको भूमिका महत्त्वपूर्ण रहने बताए। प्रमुख सिंहले डेढ वर्षअघि नै सञ्चालनमा ल्याउने योजना रहे पनि विविध कारणले ढिलो भएको जानकारी दिए।

प्रमुख सिंहले बीपी उद्यानमा रहेको अव्यवस्थित बजारका कारण पनि छपकैयाँको बजार सञ्चालनमा आउन केही समय लागेको स्पष्ट पारे। उनले अब बीपी उद्यानमा रहेको अव्यवस्थित बजारलाई हटाउने अभियान थालनी गरिने र त्यहाँका व्यवसायीलाई छपकैयाँको बजारमा स्थानान्तरण गर्नका लागि विकल्प दिइएको बताए।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले व्यवस्थित बजार सञ्चालनले किसान र उपभोक्ता दुवै लाभान्वित हुने विश्वास व्यक्त गरे। उनले अब व्यवस्थित ठाउँमा खरिद-बिक्री गर्न र सवारी सञ्चालन पनि सरल हुने उल्लेख गरे।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार बजारको पहिलो चरणको निर्माण ७० लाख रुपियाँको लागतमा सम्पन्न भएको छ। हाल निर्माण गरिएका १४ युनिटमा २८ वटा सटर सञ्चालनमा आएका छन्।

बजार परिसरमा व्यवसायी र उपभोक्ताको सहजताका लागि बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहितका सबै आधारभूत सुविधाहरू उपलब्ध गराइएको कर्णले जानकारी दिए।

महानगरपालिकाले आगामी दिनमा बजार विस्तारको योजना बनाएको छ। दोस्रो चरणमा थप ७० लाख रुपियाँ लगानी गर्दै युनिट सङ्ख्या र भौतिक संरचना विस्तार गरिने महानगरले जनाएको छ।

महानगरको भनाइ छ, खुद्रा र थोक कारोबारलाई अलग-अलग संरचनाबाट सञ्चालन गरिने भएकाले व्यवसायीलाई दीर्घकालीन योजनासहित कारोबार गर्न सहज हुनेछ।

यो व्यवस्थित बजार सञ्चालनमा आएसँगै वीरगञ्जको कृषि उपज कारोबार थप सहज, व्यवस्थित र पारदर्शी हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै