२२ मंसिर, काठमाडौँ । सर्वोच्च अदालतका सबै इजलास सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएका छन्। गत भदौ २४ गते भएको आगजनीपछि सीमित इजलासमार्फत मात्र मुद्दाको पेशी तोकी सुनुवाइ हुँदै आएकोमा अब सबै इजलास सञ्चालनमा ल्याइने भएको हो।
सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले थाहासञ्चार नेटवर्कलाई जानकारी दिँदै सोमबारदेखि थप ६ वटा इजलास सञ्चालनमा आउने बताए। हालसम्म भौतिक संरचनामा आएको क्षतिका कारण अदालत सीमित क्षमतामा मात्र सञ्चालन हुँदै आएको थियो।
जेनजी आन्दोलनपछि भएको आगजनीका कारण सर्वोच्च अदालतमा इजलास गठनमा समस्या आएको थियो। इजलास बस्ने भौतिक स्थानको अभावका कारण मुद्दाको पेशी सीमित संख्यामा मात्र तोकिने अवस्था थियो।
सहायक प्रवक्ता पाण्डेका अनुसार सोमबारदेखि सर्वोच्चको एनेक्स भवनबाट ५ वटा र नयाँ भवनबाट ६ वटा इजलास सञ्चालन हुनेछन्। संवैधानिक इजलास पनि नयाँ भवनमै सञ्चालन गरिनेछ।
सर्वोच्च अदालतमा हाल २१ जना न्यायाधीश कार्यरत रहे पनि आगजनीबाट पुगेको क्षतिको प्रभावले हालसम्म अदालत करिब ५० प्रतिशत क्षमतामा मात्रै सञ्चालन हुँदै आएको थियो। सबै इजलास सञ्चालनमा आएपछि मुद्दा फछ्र्योटको गति बढ्ने र न्याय सेवामा देखिएको चाप कम हुने अपेक्षा गरिएको छ।














