२२ मंंसिर, नयाँ दिल्ली । भारतको पर्यटकीय राज्य गोवामा रहेको एक नाइट क्लबमा आइतबार बिहान लागेको भीषण आगलागीले २५ जनाको ज्यान लिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये चार जना नेपाली नागरिक पनि रहेका छन्।
आगलागीका बेला क्लबभित्र पर्यटक र कर्मचारी गरी करिब तीन दर्जनभन्दा बढी व्यक्ति रहेका बताइएको छ। मृत्यु भएका २५ मध्ये पाँच जना पर्यटक र बाँकी २० जना नाइट क्लबका कर्मचारी भएको भारतीय प्रहरी उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
मृतक पर्यटकमध्ये चार जना दिल्लीका सरोज जोशी, अनिता जोशी, कमला जोशी र विनोद कुमार रहेका छन्। अर्को एक पर्यटक कर्नाटकका इशाक रहेको उल्लेख गरिएको छ।
सबैभन्दा बढी क्षति कर्मचारी पक्षमा परेको जनाइएको छ। मृत्यु भएका २० कर्मचारीमध्ये उत्तराखण्डका पाँच, महाराष्ट्रका दुई, उत्तर प्रदेशका दुई, झारखण्डका तीन, असमका तीन र पश्चिम बंगालका एक जना रहेका छन्।
यही सूचीमा चार नेपाली कामदार पनि परेका छन्। गोवामा रोजगारीका लागि गएका चुर्णबहादुर पुन, विवेक कटुवाल, सबिन र सुदीपको घटनास्थलमै मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। चार जनाको ठेगाना भने खुलाइएको छैन।
आगलागी कसरी सुरु भयो भन्नेबारे स्थानीय प्रशासनले अनुसन्धान अघि बढाएको छ। गोवाको पर्यटन क्षेत्रकै व्यस्त रात्रीक्लबमा यस्तो ठूलो मानवीय क्षति भएको घटना पछिल्ला वर्षमै सबैभन्दा गम्भीर मानिएको छ।















