२२ मंसिर,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, खजुरियाका मेघराज साहलाई भारतीय प्रहरीले वीरगन्जस्थित राधेमाइ टोलबाट नेपाली प्रशासनलाई जानकारी नदिई नियन्त्रणमा लिएर भारततर्फ लगेको खुलासा भएको छ।
स्थानीयवासी र परिवारजनले यस घटनालाई ‘अपहरण शैलीमा गरिएको पक्राउ’ भन्दै विरोध जनाएका छन्।
स्रोतका अनुसार भारतीय नम्बर प्लेटको थार गाडीमा आएका तीन जना सादा पोशाकधारी भारतीय प्रहरी खजुरिया गाउँ हुँदै मनवा बजारतर्फ साहको खोजीमा आएका थिए। त्यसपछि उनीहरू वीरगन्ज महानगरपालिका–१३, राधेमाइ टोलस्थित मेघराज साहको घरमै पुगेर उनलाई नियन्त्रणमा लिएर सीधे भारततर्फ लगेका थिए।
परिवारजनका अनुसार, घटनाको समयमा स्थानीय प्रशासनलाई कुनै जानकारी दिइएको थिएन, न त प्रक्रियागत समन्वय नै भएको थियो।
यसअघि भारतमा ५० किलोभन्दा बढी चरेससहित एक व्यक्ति पक्राउ परेका थिए। सो व्यक्तिको बयानका आधारमा मेघराज साहको नाम आरोपमा जोडिएको र यही कारण भारतीय पक्षले उनलाई खोजी गरिरहेको भारतीय स्रोतहरूले बताएको परिवारले दाबी गरेको छ।
तर नेपाली पक्ष यस घटनाबारे अनभिज्ञ रहेको पर्सा प्रहरीले जनाएको छ। पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले भने, “घटनाबारे प्रारम्भिक जानकारी प्राप्त भएपछि बुझ्ने काम भइरहेको छ। प्रहरीसँग समन्वयबिनै नागरिक लगिएको हो कि भन्नेबारे जाँचबुझ जारी छ,” उनले भने।
समन्वयबिनै नेपाली क्षेत्रबाट नागरिक लैजानुले सीमा सुरक्षाप्रति गम्भीर प्रश्न उठेको भन्दै स्थानीयस्तरमा चर्को आलोचना भइरहेको छ।
सीमा क्षेत्रको सुरक्षा प्रणाली, द्विपक्षीय समझदारी र कानुनी प्रक्रियामै चुनौती देखिएको भन्दै नागरिकले चिन्ता व्यक्त गरेका छन्।















