२२ मंसिर,काठमाडौं । सोमालियामा तीव्र रूपमा फैलिएको ‘भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी बालबालिका संक्रमित भएका छन्। सोमालियाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “खतरनाक अवस्थामा पुगेको यो रोग नियन्त्रणका लागि खोप अभियान डिसेम्बर १५ बाट सुरु गरिनेछ, जसले पाँच दिनसम्म निरन्तर सञ्चालन हुनेछ।” मन्त्रालयका अनुसार गाउँ, स्वास्थ्य चौकी र विद्यालयमा रहेका सबै बालबालिकालाई खोप लगाइनेछ।
मन्त्रालयले ‘घातक रोग’ को रूपमा वर्णन गर्दै अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई तोकिएका खोप केन्द्रमा अनिवार्य रूपमा ल्याउन आग्रह गरेको छ।
यो चेतावनी सोमालियामा बिग्रँदै गएको मानवीय संकटका बीचमा आएको हो। लगातारको द्वन्द्व, जलवायु परिवर्तनका प्रभाव, बाढी तथा खडेरीका कारण स्वास्थ्य प्रणाली नै कमजोर बन्दै गएको र यसले रोग नियन्त्रणमा थप चुनौती थपिएको सरकारी अधिकारीहरूले बताएका छन्।















