२२ मंसिर,कैलाली । संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका नाममा विध्वंसकारी वा गलत गतिविधि गर्नेहरूलाई कानुनी कारबाही हुने स्पष्ट बताएका छन्। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको क्षतिग्रस्त भवनको अनुगमनका क्रममा उनले यस्तो चेतावनी दिएका हुन्।
अर्थमन्त्री खनालले उच्चस्तरीय छानबिन समिति अहिले कार्यरत रहेको उल्लेख गर्दै घटनाको पूर्ण विवरण समितिको प्रतिवेदन आएपछि मात्र प्रस्ट हुने बताए। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उक्त कार्यालयमा आगजनी र तोडफोड भएको थियो। सञ्चारकर्मीको प्रश्नमा उनले, “कसले राजनीतिक आन्दोलन गर्यो र कसले विध्वंसकारी काम गर्यो भन्ने छुट्याउने जिम्मेवारी मेरो होइन। समितिको प्रतिवेदनपछि सबै खुल्छ,” भने।
उनका अनुसार यदि कसैले स्थानीय प्रशासन ऐन विपरीत गलत काम गरेको प्रमाणित भएमा कानुनी कारबाही अनिवार्य हुन्छ।
खानालले मुलुकभर पुनर्निर्माणका कामहरू तीव्र गतिमा भइरहेको समेत बताए। उनले प्रदेश सरकारले क्षतिको मूल्याङ्कन गरिरहेको उल्लेख गर्दै आवश्यक परे संघीय सरकारले पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने आश्वासन दिए। “धेरै कार्यालयमा पुनर्निर्माण सुरु भइसकेको छ, केहीमा काम जारी छ,” उनले भने।
तीन वर्षभित्र सबै पुनर्निर्माण कार्य पूरा हुने दाबी गर्दै अर्थमन्त्री खनालले सरकारको पहिलो प्राथमिकता आसन्न निर्वाचन भएको बताए। उनले स्वच्छ र भयरहित निर्वाचनका लागि विश्वासपूर्वक सहकार्य गर्न आग्रह गरे।
अर्थमन्त्री खनाल आजबाट सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि धनगढी पुगेका हुन्। उनले मुख्यमन्त्री कमल बहादुर शाहसँग भेटवार्ता गरेका थिए। भेटमा सभामुख भीम भण्डारी, आर्थिक मामिला मन्त्री बहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा लगायत सहभागी थिए।














