२२ मंसिर,वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले सोमबार पर्साको नारायणी अस्पतालमा आकस्मिक स्थलगत अनुगमन गरेकी छन्। अनुगमनका क्रममा उनले आकस्मिक कक्ष, मेडिकल वार्ड, सर्जिकल वार्ड, आईसीयू लगायतका विभिन्न वार्डहरुको निरीक्षण गरी अस्पतालको सेवा प्रवाह र वस्तुस्थिति सम्बन्धमा विस्तृत जानकारी लिइन्।
मन्त्री शर्माले अस्पतालको जीर्ण अवस्था र स्रोतसाधनको उपयोगमा समेत प्रश्न उठाइन्। अनुगमनपछि आयोजित अनौपचारिक कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चितरन्जन साहले मन्त्रीलाई अस्पतालको सेवा प्रवाहसम्बन्धी विस्तृत जानकारी गराए।
डा. शर्माले नारायणी अस्पताल विगतको तुलनामा हाल जीर्ण अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरिन्। उनले पर्सा जिल्लाको नारायणी अस्पतालमा स्रोतसाधन हुँदाहुँदै पनि स्वास्थ्य सेवा पछाडि परेको विषयमा सबै सरोकारवालाले ध्यान दिनुपर्ने धारणा राखिन्।
मन्त्री शर्माले अस्पताल संघीय सरकारको लागि उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्दै सुधारका लागि प्रतिबद्धताहरू व्यक्त गरिन्। उनले अस्पतालमा नर्सहरूको संख्या वृद्धि गर्ने, भवन निर्माणमा देखिएका समस्याको समाधानका लागि भवन विभागसँग समन्वय गर्ने, र नयाँ भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अगाडि बढाई बजेटमा समावेश गर्ने आश्वासन दिइन्।
त्यस्तै, दरबन्दी हुँदाहुँदै स्वास्थ्यकर्मीहरू आउन नमान्ने समस्यालाई समाधान गर्न काम गर्ने उपयुक्त वातावरण सिर्जना गर्न सबै सरोकारवालालाई जोड दिन उनले आग्रह गरिन्।
अनुगमन कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, राष्ट्रिय अनुसन्धान पर्साका उपअनुसन्धान निर्देशक संतोष दाहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेत, अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ता, डा. नीरज सिंह, डा. सुरेन्द्र चौधरी लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।















