Logo

२२ मंसिर,काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नव पुस्ताका युवाले उठाएका माग सम्बोधन गर्न आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभाको चुनाव समयमै सम्पन्न गर्नुपर्ने बताएका छन्।

कैलाली उद्योग वाणिज्य संघको आयोजना तथा सुदूरपश्चिम महोत्सव–२०८२ को उद्घाटन गर्दै मन्त्री खनालले भने, “नव युवा पुस्ताले माग गरेको परिवर्तन संस्थागत गर्न २१ फागुनमा तोकिएको मितिमा निर्वाचन हुनैपर्छ। मुलुकको परिवर्तन संस्थागत गर्न सबै लाग्यौँ भने चुनाव सफल हुन्छ। यो चुनावले असल शासन दिने नेतृत्व उत्पन्न गर्नसक्छ।”

उनले आगामी निर्वाचनबाट युवाहरूले उठाएका भ्रष्टाचारमुक्त, सदाचार युक्त र विधिमा आधारित शासन स्थापना गर्न सक्ने सरकार निर्माण गर्न सबैले वातावरण बनाउनतर्फ लाग्नुपर्ने पनि बताए।

अर्थमन्त्री खनालले यसपटकको चुनावमा इतिहासकै सबैभन्दा धेरै राजनीतिक दल सहभागी हुने सम्भावना रहेको र सरकारले पूर्ण सुरक्षाको प्रत्याभूति दिएर निर्वाचन सम्पन्न गराउने दाबी पनि गरे।

उनले भने, “नेपालको इतिहासमा यसपाली सबैभन्दा धेरै दलहरूले निर्वाचनमा भाग लिन दर्ता गरेका छन्। १३० दल दर्ता भएका छन्, जबकि यसअघि तीन अंकमा मात्रै दलहरू भाग लिन दर्ता गर्थे। यसअघि कतिपय दलले चुनाव बहिष्कार गर्थे, तर अहिले एउटै समूह पनि बहिष्कारमा छैन। यो सकारात्मक संकेत हो।”

अर्थमन्त्री खनालले २३ र २४ भदौमा उत्पन्न घटनापछि सुरक्षाबारे उठेका प्रश्नको जवाफ दिंदै भने, “सुरक्षा एकतर्फी कुरा होइन। नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ। राज्यले सुरक्षा निकायमार्फत आवश्यक सबै स्रोत–साधन जुटाइदिनेछ।”

उनले जेनजी आन्दोलनपछि सरकार गठन भएको र वर्तमान सरकारले नव युवाले उठाएका माग सम्बोधन गर्न सक्षम हुने अवस्था नभएको पनि उल्लेख गरे।


सम्बन्धित समाचार