२३ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गतको पहिलो क्वालिफायर आज मंगलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच हुने भएको छ। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ।
पहिलो क्वालिफायरको विजेता टोली मंसिर २७ गते हुने फाइनलमा सिधै प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनलमा पुग्ने अर्को अवसर पाउनेछ। दोस्रो क्वालिफायर काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच हुने एलिमिनेटरको विजेतासँग खेलिनेछ।
यो सिजन सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै ७ खेलमध्ये ६ खेलमा जित हात पार्दै १२ अंकसहित शीर्ष स्थानमा रहेर क्वालिफायरमा स्थान सुरक्षित गरेको हो। टोली लगातार ६ खेलमा अपराजित रहे पनि समूह चरणको अन्तिम खेलमा विराटनगरसँग ६ विकेटले पराजित भएको थियो।
गत सिजन पनि शीर्ष स्थानमा रहेर फाइनल खेलेको सुदूरपश्चिम यसपटक पनि उपाधिको बलियो दाबेदारका रूपमा देखिएको छ।
टोलीका लागि विनोद भण्डारी यस सिजन निरन्तर प्रभावशाली बनेका छन्। उनले ७ खेलमा ३३.५० को औसतमा २०१ रन बनाउँदै प्रतियोगिताका शीर्ष रन स्कोररमध्ये एक स्थान सुरक्षित गरेका छन्। २० चौका र ६ छक्का प्रहार गरेका भण्डारी विकेटकिपिङमा पनि उत्कृष्ट देखिएका छन्। ७ क्याच र ३ स्टम्पिङसहित १० डिस्मिसल पूरा गर्दै उनी प्रतियोगिताका सफल विकेटकिपर बनेका छन्।
ब्याटिङमा आरिफ शेखले १६०, दीपेन्द्र सिंह ऐरीले १४६ र क्रिस लिनले १४३ रन जोडेका छन्। बलिङतर्फ अविनाश बोहराले १४ विकेट लिँदै आक्रमणको नेतृत्व गरेका छन् भने हर्मित सिंहले १० र स्कट कुगेलाइनले ८ विकेट लिँदै राम्रो साथ दिएका छन्।
गत सिजन छैटौँ स्थानमा सीमित भएको विराटनगर किङ्सले यस वर्ष उल्लेखनीय सुधार गर्दै ७ खेलबाट ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको हो।
पोखरा, काठमाडौँ र जनकपुरलाई लगातार हराउँदै सुरुमा नै प्रभाव जमाएको विराटनगरले बीचमा केही उतार–चढाव व्यहोरे पनि अन्तिम खेलमा अपराजित सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै आफ्नो सामर्थ्य प्रमाणित गरेको थियो।
कप्तान सन्दीप लामिछाने बलिङमा उत्कृष्ट लयमा छन्। उनले ७ खेलमा १५ विकेट लिँदै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। ५.१० को किफायती इकोनोमी र ९.५३ को औसत उनका लागि विशेष उपलब्धि बनेको छ। मर्चेन्ट डी लाङले ८ विकेट लिँदा शुभम् सुवास रंजानेले ५ विकेट लिएका छन्।
ब्याटिङतर्फ बसिर अहमद १७६ रनसहित टोलीका शीर्ष रन स्कोरर बनेका छन् भने लोकेश बमले १६५ रन जोडेका छन्। अनुभवी ब्याटर मार्टिन गप्टिलले १२१ रन बनाएका छन्।
पछिल्ला दुई खेलमात्र खेलेका फाफ डुप्लेसिसले प्रभावशाली अर्धशतक प्रहार गर्दै २१३.७९ को विस्फोटक स्ट्राइक रेट बनाएका छन्। उनी यस सिजन प्रतियोगिताका उच्च स्ट्राइक रेट भएका इम्प्याक्ट प्लेयरका रूपमा उदाएका छन्।
दुवै टोली उत्कृष्ट फर्ममा रहेकाले पहिलो क्वालिफायर कडा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।















