Logo

२३ मंसिर,काठमाडौँ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालसहित संसारभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

प्रत्येक वर्ष डिसेम्बर ९ मा मनाइने यो दिवसको उद्देश्य भ्रष्टाचारविरुद्धको आवाजलाई सशक्त बनाउँदै सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन गर्नु हो।

सन् २००३ मा संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर ९ लाई भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरेको हो। त्यसयता विश्वका विभिन्न मुलुकहरूमा सरकारी, गैरसरकारी तथा नागरिक समाजका संस्थाहरूले भ्रष्टाचार नियन्त्रण सम्बन्धी चेतनामूलक कार्यक्रम, बहस, अभिमुखीकरण र अभियान सञ्चालन गर्दै आएका छन्।

दिवसका अवसरमा भ्रष्टाचारका असर, रोकथामका उपाय र जवाफदेही शासन प्रणालीको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने कार्यमा विशेष जोड दिइन्छ। भ्रष्टाचारले आर्थिक विकास, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यमान्यतामा पार्ने नकारात्मक प्रभावबारे सचेत गराउनु यस दिवसको प्रमुख उद्देश्य हो।

नेपालमा भ्रष्टाचार नियन्त्रण र अनुसन्धानका लागि संवैधानिक निकायका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) गठन गरिएको छ। संविधानअनुसार कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो अधिकारको दुरुपयोग गरी भ्रष्टाचारमा संलग्न भएको पाइएमा उक्त आयोगले अनुसन्धान गरी कारबाही अघि बढाउने अधिकार राख्दछ।

दिवसका अवसरमा नेपालमा पनि विभिन्न सरकारी निकाय, शैक्षिक संस्था, नागरिक समाज र सञ्चार माध्यममार्फत भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको सन्देश प्रवाह गर्ने कार्यक्रमहरू आयोजना गरिएको जनाइएको छ।


सम्बन्धित समाचार