Logo

२३ मंसिर,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा बृहत् प्रदर्शन आयोजना गर्ने भएको छ । राजा, राजनीतिक दल र ‘जेनजी’ बीच त्रिपक्षीय समझदारी कायम गर्नुपर्ने मागसहित राप्रपाले आज रत्नपार्कमा प्रदर्शन गर्न लागेको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मध्यान्ह १२ बजे प्रदर्शनमा सहभागी हुन पार्टी पङ्क्ति तथा समर्थकहरूलाई आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले आम निर्वाचनअघि नै ‘कसैले नजित्ने, कसैले नहार्ने र देशले जित्ने’ नवीन सहमतिका लागि राजा, राजनीतिक दल, जेनजीलगायत सरोकारवालाहरूको सर्वपक्षीय सम्मेलन आह्वान गर्नुपर्ने माग सार्वजनिक गरेका छन्।

प्रदर्शनमार्फत अन्तरजिल्ला तथा विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग सम्बोधन गर्नुपर्ने लगायतका विषय उठाइने राप्रपाले जनाएको छ।

राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले जेनजी युवाहरूले आन्दोलनका क्रममा सडकमा विजय हासिल गरे पनि राजनीतिक समझदारीका प्रक्रियामा पछि परेको दाबी गरेका छन्। उनले देशमा संवैधानिक राजसंस्था आवश्यक रहेको धारणा व्यक्त गर्दै जापान, बेलायत, नेदरल्यान्ड, अष्ट्रेलिया र क्यानडाजस्ता मुलुकको मोडेल नेपालका लागि उपयुक्त रहेको बताए।

प्रवक्ता शाहीका अनुसार राप्रपाको आन्दोलनका प्रमुख मागमा प्रदेश संरचना खारेज, हिन्दु, बुद्ध र किरात पहिचानसहितको हिन्दु अधिराज्य घोषणा, संवैधानिक राजसंस्था पुनःस्थापना तथा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था रहेका छन्।

राप्रपाले उक्त मागहरूलाई केन्द्रमा राख्दै नेपालमा वर्तमान राजनीतिक व्यवस्थाको संरचनात्मक सुधार आवश्यक रहेको ठहरसहित आन्दोलन अघि बढाएको जनाएको छ।


सम्बन्धित समाचार