Logo

२३ मंसिर, काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्दै अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ सामूहिक संकल्प आवश्यक रहेको बताएकी छिन्।

सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार तथा जनतामा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले साझा उद्देश्यमा एकताबद्ध भएर दक्षिण एसियाले सामना गरिरहेका चुनौतीको समाधान खोज्न सकिने र आम जनताको हित तथा आकांक्षा पूरा गर्न सकिने उल्लेख गरेकी छिन्।

सन्देशमा उनले झण्डै चार दशकअघि सार्कका संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिमार्फत एकीकृत दक्षिण एसियाको परिकल्पना गरेको स्मरण गराउँदै त्यही सामूहिक दूरदृष्टिले सार्कको स्थापना भएको बताइन्। क्षेत्रीय सहयोग प्रवर्द्धन गर्ने, मित्रता सुदृढ गर्ने र जनताको कल्याण अभिवृद्धि गर्ने उद्देश्यसहित सार्क एउटा महत्वपूर्ण मञ्चका रूपमा विकसित भएको उनको भनाइ छ।

प्रधानमन्त्री कार्कीका अनुसार सार्कले विगत वर्षहरूमा आपसी समझदारी र विश्वास अभिवृद्धि गर्न तथा दक्षिण एसियाभर जीवनस्तर सुधारतर्फ योगदान पुर्‍याउने पहलहरू अघि बढाएको छ। खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विभेद र गरिबी न्यूनीकरण जस्ता समसामयिक चुनौतीहरू सामना गर्न सामूहिक आत्मनिर्भरता मजबुत बनाउनु आवश्यक रहेको उल्लेख गर्दै उनले सार्क चार्टरले आज पनि मार्गदर्शक भूमिका खेलेको स्पष्ट गरेकी छिन्।

हाल सार्कको अध्यक्ष राष्ट्रको जिम्मेवारी वहन गरिरहेको नेपालले मित्रता, एकता र सहमतिको भावनामा आधारित सहकार्यलाई अझ सुदृढ गर्ने दृढ प्रतिबद्धता पुनः व्यक्त गरेको पनि उनले उल्लेख गरिन्। संयुक्त प्रयासमार्फत साझा विकास लक्ष्य हासिल गर्न गति दिन सकिने र दक्षिण एसियामा बसोबास गर्ने विश्वका करिब एक चौथाइ जनसंख्याका लागि ठोस लाभ पुर्‍याउन सकिने उनको धारणा छ।

सार्कको स्थापना सन् ८ डिसेम्बर १९८५ मा बङ्गलादेशको ढाकामा चार्टरमा हस्ताक्षरसँगै भएको हो। सार्कमा हाल अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी आठ सदस्य राष्ट्र रहेका छन्। यस क्षेत्रीय सङ्गठनको सचिवालय १७ जनवरी १९८७ मा काठमाडौँमा स्थापना गरिएको हो।


सम्बन्धित समाचार