२३ मंसिर,काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुसको अन्तिम सातामा हुने घोषणा भएसँगै पार्टीभित्र नेतृत्व चयनको दौडझैँ तीव्र बन्दै गएको छ। चार वर्षका लागि नयाँ नेतृत्वसहित केन्द्रीय कार्य समिति चयन गर्ने महाधिवेशन नजिकिँदै गर्दा शीर्ष नेताहरूको हलचल बढेको छ। यद्यपि महाधिवेशन तोकिएको समयमा नै हुन्छ कि हुँदैन भन्ने शंका अझै कायमै छ।
महामन्त्री गगन थापाले क्रियाशील सदस्यतामा टुंगो लाग्दै गएको बताएका छन्। आगामी महाधिवेशनले कांग्रेसको नेतृत्व पुस्ता परिवर्तन हुने अपेक्षा राखिँदै आएको छ। यसैबीच नेतृत्वमा दाबेदारी राख्नेहरू खुलेर दौडधुपमा उत्रिन थालेका छन्।
दुई कार्यकाल सभापति भइसकेका शेरबहादुर देउवा विधानतः पुन: उम्मेदवार बन्न नपाउने भएकाले स्वयम् पदबाट बिदा हुँदैछन्। जेन-जि आन्दोलनका क्रममा स्वास्थ्यमा परेको असरले पनि उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको पार्टी स्रोत बताउँछ।
स्थापनापक्षमा खड्का नै डेउवाको आशीर्वाद प्राप्त उम्मेदवार बन्न सक्ने संकेत छ। कार्यसमितिमा संस्थापनका तर्फबाट रहेका एकमात्र उपसभापति भएकाले पनि उनी ‘निर्विकल्प’ देखिने मूल्यांकन भइरहेको छ। कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शशांक कोइराला, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, प्रकाशमान सिंह र प्रकाशशरण महतलगायत नेतालाई समेत संस्थापन पक्षले एकताबद्ध गर्न खोजिरहेको देखिन्छ।
तर खड्काले नै महाधिवेशनका विवाद समाधानमा देउवाकै मुख ताकेको भन्दै संस्थापनभित्रै असन्तुष्टि बढेको छ। बालकृष्ण खाँड, एनपी साउदलगायत नेताहरू पनि एउटै मोर्चामा उभिन सक्ने सम्भावना देखिएको छ।
इतर पक्षमा शेखर–गगन गठजोड बलियो
संस्थापन इतर पक्ष भने १४औँ महाधिवेशनको टीमलाई एक ढिक्का बनाएर अगाडि बढ्न चाहन्छ। डा. शेखर कोइराला र गगन थापाबीच निरन्तर छलफल भइरहेको छ। महामन्त्रीमा विजयी भएका विश्वप्रकाश शर्मा र पराजित भए पनि प्रभाव बढाउँदै आएका प्रदीप पौडेल पनि यही समूहमा छन्। सरकारमा सहभागी भएर अवसर लिन तछाडमछाड गर्नेहरू संस्थापनमै केन्द्रित भएको आरोप गर्दे इतर पक्ष अझ संयोजित बनेको देखिन्छ।
शेखर–गगन पक्ष भन्छ, “यदि यो पटक एकताबद्ध भएर प्रस्तुत हुन सकियो भने १४औँ महाधिवेशनमा हात नपरेको सफलता यसपालि सुनिश्चित हुनेछ।”
दुवै पक्षमा उम्मेदवार टुंगो नलाग्दा अनिश्चितता
स्थापनातर्फ खड्का नै मुख्य विकल्प देखिए पनि अन्तिम सहमति भइसकेको छैन। त्यस्तै इतर पक्षमा शेखर–गगन दुवैले दाबेदारी राख्ने हुँदा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो कठीन बनेको छ। महाधिवेशनको मिति, क्रियाशील सदस्यता सूची र आन्तरिक समायोजनका मुद्दा समाधान नभएसम्म दुवै पक्षमा स्पष्टता आउने अवस्थामा छैन।
नेपालको सबैभन्दा पुरानो दल कांग्रेसमा हुने यो महाधिवेशनले नयाँ शक्ति समीकरण निर्माण गर्ने अपेक्षा गरिँदै छ। सभापतिबाट देउवाको प्रस्थानपछि दुवै पक्षले पार्टीको भविष्य आफ्नो नेतृत्वमा सुरक्षित हुने दाबी गरिरहेका छन्, तर अन्तिम टुंगो कसले लगाउने हो—यो भने महाधिवेशन नजिकिँदै जाँदा मात्रै प्रष्ट हुनेछ।















