Logo

२३ मंसिर,महोत्तरी । सरकारले सोमबार चालु वर्षका लागि उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ। सरकारले तोकेको मूल्य किसानको मागअनुसार नभए पनि गएको वर्षभन्दा केही वृद्धि भएकाले महोत्तरीका किसानले चित्त बुझाएका छन्।

उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाका अनुसार किसानहरुले प्रतिक्विन्टल ७५० रुपैयाँको माग गरेका थिए। “हाम्रो लागत र बजार मूल्यवृद्धि अनुरूप ७५० रुपैयाँ हुनुपर्ने हो,” कुशवाहाले भने, “तर सरकारले प्रतिक्विन्टल ६९० रुपैयाँ मात्रै निर्धारण गरिदियो।”
चालु वर्ष उद्योगले दिने मूल्य ६२० रुपैयाँ र सरकारले दिने अनुदान ७० रुपैयाँ गरी कुल ६९० रुपैयाँ रहेको छ। यो गत वर्षको भन्दाअनुसार प्रतिक्विन्टल ७० रुपैयाँले वृद्धि हो।

समयमै बाली नलगाउने दबाब

हाल किसानहरू खुट्टी उखु (दोस्रो वर्षको बाली) काटेर छिट्टै अर्को बाली लगाउनपर्ने दबाबमा छन्। भङ्गाहा–४ का किसान अरुण गिरी भन्छन्, “अब सरकारसँग वादविवाद गर्ने समय छैन। खुट्टी उखु काटेर पुस तेस्रो साताभित्र अर्को बाली नलगाए खेत छ महिनासम्म बाँझै बस्छ।”

बर्दिबास–९ का किसान रामविनोद महतोका अनुसार पुसभित्र बाली नलगाए जेठ/असारसम्म पर्खनुपर्ने बाध्यता हुन्छ। “खेत रुखिन्छ, त्यसैले खुट्टी उखु काट्ने हतारो परेको हो,” उनले भने।

मूल्य निर्धारणमा ढिलाइप्रति गुनासो

उखु किसान र तिनका प्रतिनिधिसंस्थाले प्रत्येक वर्ष कात्तिक मसान्तभित्र मूल्य निर्धारण र मङ्सिर दोस्रो साताभित्रै क्रसिङ शुरु गर्नुपर्ने माग गर्दै आएका छन्। तर ढिलाइका कारण किसानहरू प्रत्येक वर्ष समस्यामा पर्ने गरेको बर्दिबास–१२ का किसान विश्वनाथ सिंहको गुनासो छ।

उद्योग चाँडै क्रसिङ खोल्ने तयारीमा

जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डस्ट्रीज अझै पूर्ण रूपमा सञ्चालनमा नआएकोले किसानको चिन्ता थपिएको छ। उद्योगले मूल्य निर्धारण भइसकेको भन्दै छिट्टै क्रसिङ खोल्ने तयारी तीव्र बनाएको जनाएको छ।
उद्योगका अनुसार मङ्सिरभित्र ‘डोला पूजा’ सम्पन्न गरेर पुस पहिलो साता क्रसिङ सुरु गर्ने योजना छ। गत वर्ष मङ्सिर २६ गते नै क्रसिङ सुरु गरिएको थियो।

जिल्लामा ९,६०० बिघामा उखु खेती

यस वर्ष महोत्तरीमा ९,६०० बिघामा उखु खेती भएको छ। जसमध्ये ५,००० बिघामा खुट्टी र ४,६०० बिघामा मुडन उखु रहेको उखु उत्पादक कृषक संघका अध्यक्ष कुशवाहाले जानकारी दिए।


सम्बन्धित समाचार