२३ मंसिर, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको विध्वंसबारे छानबिन गरिरहेको आयोगले दुई सुरक्षा निकायका प्रमुखहरूसँग बयान लिन तयारी पूरा गरेको छ। आयोगका स्रोतका अनुसार मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालसँग बयान प्रक्रिया सुरु हुँदैछ। त्यसपछि नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई पनि आयोगले बोलाउनेछ।
जेनजी आन्दोलन चलिरहेको समयमा अर्याल सशस्त्र प्रहरी बलको नेतृत्वमै रहेका थिए।
नेपाल प्रहरीका कार्की भने आन्दोलनको अघिल्लो दिन प्रत्यक्ष रूपमा प्रहरी परिचालनमा संलग्न थिएनन्। मन्त्रिपरिषद्को निर्णयपछि भदौ २४ गते बिहानदेखि मात्र उनले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए। आयोगले कार्कीलाई हालको पदअनुसार नभई त्यतिबेला एआईजीको भूमिकामा रहेर बयान दिने व्यवस्था मिलाएको स्रोतले जानकारी दिएको छ।















