Logo

 २३ मंसिर,काठमाडौं । देशभरका भन्सार कार्यालय आजदेखि ठप्प भएका छन्। भन्सार एजेन्ट महासङ्घको आह्वानमा सबै कार्यालयमा भन्सार जाँचपास प्रक्रिया रोकिएको छ। यससँगै मालवस्तुको आयात र निर्यात पनि अस्थायी रूपमा अवरुद्ध भएको छ।

महासङ्घले भन्सार ऐनमा केही व्यवस्था अन्यायपूर्ण रहेको भन्दै सुधारको माग गर्दै आएको थियो। लामो समयसम्म लबिङ गर्दा पनि सरकारको ध्यान यसतर्फ नजानेपछि भन्सार एजेन्टहरूले आन्दोलित भएर जाँचपास नै अवरुद्ध गर्नुपर्ने निर्णय लिएका हुन्।

महासङ्घका केन्द्रीय सदस्य उमेश घिमिरेका अनुसार, आन्दोलनको मुख्य कारण भन्सार ऐनका अव्यवहारिक प्रावधान, सर्भरमा देखिएको निरन्तर समस्या, र पेशागत हकहितसँग सम्बन्धित विषयहरू हुन्। विशेषतः दफा ७१ (झ) अनुसार कम्प्युटर प्रणालीमा कागजात अपलोड गर्दा सानातिना त्रुटि भएमा पनि जरिवाना लगाउने प्रावधानप्रति महासङ्घ आपत्ति जनाएको छ।

यसअघि सोमबार वीरगञ्ज भन्सार कार्यालयमा पेनडाउन गरिएको थियो। तर माग पूरा नभएपछि अब देशभरका सबै भन्सार कार्यालयमा काम ठप्प भएको घिमिरेले जानकारी दिएका छन्।


सम्बन्धित समाचार