२३ मंसिर,वीरगञ्ज । मधेस प्रदेशमा नवगठित सरकारले विश्वासको मत कहिले लिने भन्ने विषय अझै स्पष्ट भएको छैन। मुख्यमन्त्री कृष्णा यादवले गठबन्धन दलबीच छलफल नटुंगिएको कारण मिति घोषणा हुन नसकेको जानकारी दिएका छन्।
मुख्यमन्त्री यादवका अनुसार, संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएकाले सो अवधिभित्रै मत लिइनेछ। उनले भने, “कुनै हतारो छैन, सत्तारुढ दलबीच छलफल गरेरै मिति टुंगो लाग्छ।”
गत शुक्रबार शपथग्रहण गरेका यादवले सानो आकारमा मन्त्रिमण्डल विस्तार गर्दै सरकार सञ्चालन सुरु गरिसकेका छन्। नयाँ सरकार नेपाली कांग्रेस नेतृत्वमा मधेसका ६ दलको समर्थनसहित गठन भएको हो।
स्रोतका अनुसार, मुख्यमन्त्री यादव नेतृत्वको सरकारले यही साता विश्वासको मतका लागि आन्तरिक तयारी तीव्र पारेको छ।















