२३ मंसिर,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच एकता नजिक पुगेको छ। केही दिनदेखि दुवै दलका शीर्ष नेताहरूबीच घनिभूत छलफल भइरहेको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सार्वजनिक कार्यक्रममा जानकारी दिँदै भने, “सबै अनुकूल भएमा केही दिनभित्र खुसीको समाचार सुन्न पाइनेछ। सबै एकै ठाउँमा बसेर बलियो शक्ति निर्माण गर्नु आजको आवश्यकता हो।” उनले जेन्जीहरूको अधुरो सपना पूरा गर्दै राष्ट्रवादी शक्ति बलियो बनाउन जोड दिएका छन्।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि दुवै पार्टीबीच छिट्टै एकता सहमति हुने सम्भावना रहेको बताए। उनले अरू राष्ट्रवादी शक्तिहरूलाई समेत एक ठाउँमा ल्याउने प्रयास भइरहेको जानकारी दिए। “कमल थापा नेतृत्वको पार्टीसँग छिट्टै सहमति हुने सम्भावना छ। त्यस्तै केशरबहादुर विष्ट, दुर्गा प्रसाईं लगायतलाई पनि राजतन्त्रको पक्षमा एकताबद्ध गर्ने प्रयास भइरहेको छ,” श्रेष्ठले भने।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापाले स्थापित गरेको राप्रपा नेपालबीच राजनीतिक परिस्थितिको बदलासँगै निकटता बढेको हो। एकता प्रयासका लागि गत २५ कात्तिकमा लिङ्देन र थापाबीच धुम्बाराहीस्थित एक होटलमा वार्ता भएको थियो।
दुवै पार्टीबीच नाम, चुनाव चिह्न र विधान राप्रपाकै रहने गरी छलफल भइरहेको छ। हाल लिङ्देन नेतृत्वको राप्रपाको चुनाव चिह्न “गाई” र थापाले नेतृत्व गरेको राप्रपा नेपालको चुनाव चिह्न “तीर” रहेको छ।
उच्च स्रोतका अनुसार, थापाले राप्रपाको नाम र चुनाव चिह्न स्वीकार गरेपछि वार्ता सकारात्मक बनेको छ। तर नेतृत्वको विषय भने अझै टुंगिएको छैन।















