२३ मंसिर,वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ नेपाली कांग्रेसले युवा नेता राकेश यादवसहित तीन उम्मेदवार सिफारिस गरेको छ।
क्षेत्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले पूर्वमन्त्री तथा तीन पटकका सांसद अनजकुमार चौरसिया, एक पटकका सांसद राजेन्द्र बहादुर अमात्य र युवा नेता राकेश यादवलाई प्रत्यक्ष उम्मेदवारका लागि जिल्ला कार्यसमितिमा सिफारिस गरेको क्षेत्रीय सभापति महमद साहबुद्धिनले जानकारी दिए।
४३ वर्षीय यादव पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडी बैरयिाका स्थायी बासी हुन्। उनी कक्षा ९ मा पढ्दा नै नेविसंघमा आबद्ध भएका थिए र पछि ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सचिव, क्याम्पस ईकाइ समितिको सचिव, जिल्ला सचिव हुँदै नेविसंघको जिल्ला सभापतिसम्म निर्वाचित भएका थिए।
त्यसैगरी, पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारमा गम्भीरा साह, राजनाथ ठाकुर, विद्या श्रेष्ठ, रुपा श्रेष्ठ र जुनमाया बलको नाम सिफारिस गरिएको छ।
यसैगरी, आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर २ बाट उम्मेदवारमा हिरा साह कानु, सुखल हजरा, प्रेमचन्द्र दुबे र कन्हैयालाल बानियाको नाम सिफारिस गरिएको छ।















