२३ मंसिर,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार दृढ रहेको बताएकी छन्। २२औँ अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवसको अवसरमा सिंहदरबारमा आज आयोजित कार्यक्रममा उनले यस विषयमा आफ्नो प्रतिवद्धता व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्ध कदम चाल्ने क्रममा धम्की आएको संकेत गर्दै, “कसैले प्रत्यक्ष वा परोक्षरूपमा धम्की दिए पनि हामी डराउँदैनौँ। राज्यका स्थापित संयन्त्रहरू क्रियाशील भइसकेका छन् र हामी आवश्यक सबै कदम चाल्न पछि हट्ने छैनौँ,” भनेकी छन्।
उनले जनताका काममा ढिलासुस्ती, जिम्मेवारीबाट पन्छिने, अनुचित लाभ लिने र राज्यलाई हानि पुर्याउने कुनै पनि कार्य सह्य नहुने पनि स्पष्ट पारेकी छन्।
प्रधानमन्त्री कार्कीले भदौ २३–२४ गते सडकमा युवाले भ्रष्टाचारविरुद्ध आवाज उठाएको स्मरण गर्दै, “हामीले सरकारी अड्डामा बस्नेहरूप्रति जनताको आक्रोश, विरोध र वितृष्णा छ कि छैन, त्यसको ध्यान राख्नुपर्नेछ,” भनिन्।















