२३ मंसिर,काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग शिष्टाचार भेटमा निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।
महावर नेपालको भ्रमणको क्रममा आइपुगेका हुन्। भेटमा उनले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण र विपद्बाट क्षति भएका संरचनाको व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणा पनि दिएका छन्।
सो अवसरमा गृहमन्त्री अर्यालले कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गरे। साथै सीमा अपराध रोकथाम, चोरी–तस्करी, अवैध वस्तुको ओसार–पसार र आपराधिक गतिविधि नियन्त्रण गर्न दुवैतर्फका सीमा सुरक्षा संगठनको क्षमता अभिवृद्धि र सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।















